arrow

गौरीशंकर आरोहणका क्रममा हिमपहिरोमा परी सातको मृत्यु, चार बेपत्ता, उद्धारमा कठिनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
gaurishankar-dolakha-touris.jpg
फाइल तस्बिर

दोलखा । गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै सोमबार बिहान हिमपहिरोमा परेका छन् । 

हिमपहिरोमा परेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुई नेपालीसहित तीन अमेरिकी, एक क्यानेडियाली र एक इटालीका नागरिक हुन् । चार जना बेपत्ता छन् । 

आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह सोमबार बिहान ९ बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । 

बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए । हेलिकोप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।

हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ