उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले के भने ?
गरिबी निवारण, समावेशीकरण र समृद्धि लोकतन्त्रका आधारस्तम्भ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
777
Shares
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।
कतारको दोहामा मङ्गलबारबाट सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ अन्तर्गत आयोजित उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। उनले 'गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण अमूर्त आदर्श मात्रै होइनन्, शान्ति सुव्यवस्था, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ पनि हुन्' भने।
गत तीन दशकमा उल्लेखनीय प्रगति हासिल भए तापनि सामाजिक विकासका क्षेत्रमा धेरै समस्या र चुनौतीहरू विद्यमान रहेको उनको भनाई थियो। राष्ट्रपति पौडेलले विश्वमा ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेको, धेरै देशमा बेरोजगारी दर अझै उच्च रहेको तथा लाखौँ मानिस मर्यादित कामको खोजीमा देश छोडिरहेको उल्लेख गरे।
उनले गरिबी निवारणलाई नेपालले उच्च प्राथमिकता दिएको समेत बताए। फलस्वरूप, उद्यमशीलता विकाससहित स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न प्रयास भइरहेको तथा सीप विकासमा लगानी गरी डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गरिरहेको उनले उल्लेख गरे। 'सामाजिक न्याय र समावेशीकरण हाम्रो संविधानको प्रमुख विशेषता हो,' भन्दै उनले अनौपचारिक र स्वरोजगार कामदारहरूलाई समेत समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम विस्तार भइरहेको जानकारी दिए।
उनले नीतिका प्रष्ट परिणामहरू देखिइसकेको बताउँदै सार्वजनिक सेवा, शिक्षालगायत सबै क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समूहहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको बताए। 'यति हुँदाहुँदै पनि जीवनस्तर उल्लेखनीय रूपमा उकास्न, स्वदेशमै आकर्षक रोजगारी सिर्जना गर्न र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न थप कार्य गर्न आवश्यक छ,' राष्ट्रपति पौडेलले भने।
साथै, उनले एजेन्डा २०३० को तीव्रतर कार्यान्वयन गर्न र अति कम विकसित तथा जोखिममा रहेका मुलुकहरूलाई आवश्यक सहयोग गर्न विश्वव्यापी ऐक्यबद्धता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने पनि बताए। त्यसका लागि नेपाल विश्व समुदायसँग हातेमालो गर्न तयार रहेको राष्ट्रपति पौडेलले बताए।
राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा दोहामा यही कात्तिक १८ देखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका हुन्। राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूतावासका उच्चपदस्थ पदाधिकारीले स्वागत गरेका थिए। राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।