arrow

एनआईसी एशिया बैङ्कका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
nic-asia-bank-sujit-kumar-shakya-ceo-nov-2025.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले मिति २०८२ साल कार्तिक २० गते आफ्नो पदभार ग्रहण गरेका छन्।

उनको नियुक्ति बैङ्कको सञ्चालक समितिको ७३६औँ बैठक (मिति २०८२ कार्तिक १७ गते) को निर्णय बमोजिम गरिएको हो।

शाक्यले झन्डै तीन दशकदेखि नेपालको बैङ्किङ क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्। उनले भारतको दिल्ली विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका हुन्।

शाक्यले आफ्नो बैङ्किङ करियर सन् १९९६ मा तत्कालीन नेपाल–श्रीलङ्का मर्चेन्ट बैङ्कबाट सुरु गरेका थिए। त्यसपछि उनले हिमालयन बैङ्क लिमिटेड, तत्कालीन लक्ष्मी बैङ्क लिमिटेड, र तत्कालीन बैङ्क अफ एशिया नेपाल लिमिटेडमा कार्यरत रहँदै व्यावसायिक बैङ्किङ प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।

बैङ्क अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैङ्क लिमिटेडबीचको एकीकरण (मर्जर) प्रक्रियामा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मर्जरपछि बनेको एनआईसी एशिया बैङ्क लिमिटेडमा सहायक महाप्रबन्धक (कर्पोरेट बैङ्किङ प्रमुख) को रूपमा उनको योगदान उल्लेखनीय रह्यो।

त्यसपछि उनले सिभिल बैङ्क लिमिटेड, जनता बैङ्क लिमिटेड, र ग्लोबल आइएमई बैङ्क लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गरेका थिए। एनआईसी एशिया बैङ्कमा नियुक्त हुनुअघि उनी नबिल बैङ्क लिमिटेडका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।

बैङ्कले विश्वास व्यक्त गरेको छ कि प्रमुख कार्यकारी अधिकृत शाक्यको दूरदर्शी नेतृत्व, रणनीतिक दृष्टिकोण र व्यापक बैङ्किङ अनुभवले एनआईसी एशिया बैङ्कलाई थप सशक्त, गतिशील, विश्वसनीय र परिणाममुखी वित्तीय संस्थाको रूपमा उचाइमा पुर्‍याउनेछ।

बैङ्कका अनुसार, शाक्यको कार्यकालमा संस्थाले ग्राहकमैत्री सेवा विस्तार, प्रविधिमैत्री बैङ्किङ प्रणाली सुदृढीकरण, तथा समावेशी वित्तीय पहुँचलाई नयाँ चरणमा पुर्‍याउने लक्ष्य लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ