arrow

गौतमको अध्यक्षतामा एएनओको नयाँ नेतृत्व चयन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
ano.jpg

काठमाडौँ। विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली 'ओरिजिन'हरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति भुवन गौतमको अध्यक्षतामा चयन भएको छ। अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा सम्पन्न सम्मेलनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। एएनओका केन्द्रीय महासचिव चूडामणि भट्टराईका अनुसार, समितिको उपाध्यक्षमा डा. सञ्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली र कोषाध्यक्षमा तृष्णा चिमोरिया लगायतका सदस्यहरू चयन भएका छन्।

सम्मेलनको उद्घाटन गर्दै अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद्राज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरूलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखे। उनले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिनसक्ने बताउँदै राजदूतावासले नेपाली मूलका मानिसहरूलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे छलफल गर्ने र एएनओका मागलाई नेपाल सरकारसमक्ष पुर्‍याउने जानकारी दिए।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसलाई नेपाल सरकारले नेपाली पहिचान दिनुपर्ने माग गरे। उनले पुस्तौँअघि नेपालबाट बाहिर गएका नेपाली मूलका मानिस नेपाली जातिकै प्रतिनिधिको रूपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार रहेको भन्दै नेपाल सरकार आफ्नै सन्ततिलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखे।

सो अवसरमा ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओका केन्द्रीय सदस्य डा. दामोदर पौडेलले नेपाली जातिका मानिसलाई नेपालसँग जोड्ने एएनओको अभियानले तीव्रता पाएको र यस अभियानमार्फत नेपाली ओरिजिनले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे। सम्मेलनमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने प्रस्तुति दिएका थिए। सोही कार्यक्रममा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर, नेपाली मूलकी विनिता पुरी राईलाई एएनओ र उक्त फाउण्डेसनका तर्फबाट सम्मान प्रदान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ