खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशियाको अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
659
Shares
तस्बिर : फाइल
काठमाडौँ। लाखौँ ग्राहकहरूबिच आधुनिक र गतिशील बैङ्किङ सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्ना सम्मानित ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैङ्कका अनुसार, ग्राहकहरूको खाताबाट गरिएको कर कटौती सम्बन्धी विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको “आयकर ऐन २०५८” बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले आफ्नो प्यान जानकारी अद्यावधिक गर्न आवश्यक भएको हो।
ग्राहकहरूले आफ्नो प्यान विवरण बैङ्कको वेबसाइट panupdate.nicasiabank.comवा एनआईसी एशिया मोबाइल बैङ्किङ एप मोबैङ्कमा रहेको “प्यान अद्यावधिक” विकल्पमा गई सजिलै अद्यावधिक गर्न सक्नेछन्। साथै, आफूलाई सहज पर्ने बैङ्कको कुनै पनि शाखा कार्यालयमा प्रत्यक्ष आवेदन दिएर पनि अद्यावधिक प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ।
बैङ्कका अनुसार, निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई विद्युत्–कर कटौती प्रणाली (ई–टीडिएस) रेकर्डमा समावेश गर्नका लागि प्यान नम्बर अत्यावश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि ग्राहकहरूको कर कटौती विवरण सोही प्यानमा प्रविष्ट गरिनेछ। जसअन्तर्गत आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा विवरण मिलान गर्नेछ। यस प्रक्रियाले कर कटौती प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न ग्राहकहरूलाई सजिलो बनाउनेछ। साथै अब बैङ्कमा उपस्थित हुनुपर्ने आवश्यकता पनि हट्नेछ।
यदि ग्राहकले प्यान अद्यावधिक नगरेको कारण ई–टीडिएसमा ब्याज कर दाखिला नभएमा वा पछिल्लो चरणमा कर समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसका लागि बैङ्क जिम्मेवार नहुने बैङ्कले स्पष्ट पारेको छ।
त्यस्तै, बैङ्कले आफ्ना ग्राहकहरूलाई खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले बैङ्कको भिडियो केवाईसी पोर्टल (https://www.nicasiabank.com/video-kyc/) वा मोबाइल बैङ्किङ एप मोबैङ्कमा रहेको “माई प्रोफाइल” मा गई “इमेल परिवर्तन” विकल्प चयन गरेर इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्।
ग्राहकहरूले चाहनु भएमा आफूलाई सहज पर्ने निकट शाखा कार्यालयमा प्रत्यक्ष उपस्थित भई इमेल ठेगाना अद्यावधिक गर्न पनि सक्ने व्यवस्था गरिएको छ।
साथै, यसअघि बैङ्कलाई प्यान उपलब्ध गराइसक्दा पनि कर कटौती विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा, ग्राहकहरूले नजिकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रका फोन नम्बरहरू — १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ — मा सम्पर्क गरी सेवा लिन सक्ने बैङ्कले जनाएको छ।