arrow

नेपाल प्रिमियर लिग

एनपीएलमा आज : कुशलको पोखरा र दीपेन्द्रको सुदूरपश्चिम आमनेसामने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
npl-tu-ground-.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज  त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

अपराह्न ४:०० बजे हुने यस रोमाञ्चक खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेलले र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।

पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ। आजको खेलमा पोखराका मुख्य आधार मानिएका खेलाडीहरूमा आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन रहेका छन्।

उता, सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित विदेशी खेलाडीहरू क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, तथा घरेलु स्टारहरू आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन्।

अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम, विराटनगर र लुम्बिनीले शतप्रतिशत नतिजा निकालेका छन् । काठमाडौँ र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेको छ । 

जनकपुर, पोखरा र कर्णाली अंकविहीन छन् । 

यसअघिका खेलको नतिजाः 

पाँचौ खेलमा लुम्बिनीले हरायो चितवनलाई

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटमा लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो । 

लुम्बिनीले १४३ रनको चुनौती १८ ‌ओभर ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । गुल्बादिन नैबले २४ बलमा अविजित रहँदै ४४ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले ४४ बलमा ३९ तथा सन्दीप जोराले १८ बलमा २८ रन बनाए । रिजन ढकालले २ विकेट लिए । 

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षातिमा १४२ रन बनायो । रवि बोपाराले ५५ बलमा ६६ रन जोडे । रुबेन ट्रम्पलेम्यानले ३ विकेट लिए अभिषेक गौतम र गुल्बादिन नैबले समान २ विकेट लिए । 

रोहित पौडेलको कप्तानीमा लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले दोस्रो खेल खेलेको हो ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । 

 गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।  

गत संस्करणको  लिग चरणमा चितवनविरुद्ध लुम्बिनी  ३३ रनले विजयी भएको थियो । 

चौथो खेलमा सुदूरपश्चिमले हरायो काठमाडौँलाई
नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक शुरूआत गरेको छ । सुदूरले लिगको चौथो खेलमा काठमाडौँ गोर्खाजलाई २९ रनले हराएको हो ।  

काठमाडौँले १४८ रनको चुनौती पछ्याउने क्रममा १६ ओभर ५ बलमा अलआउट हुँदै ११८ रन बनायो । ओपनर आकाश त्रिपाठीले सर्वाधिक २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा स्कट कुग्ग्लेजिन, हेमन्त धामी र हर्मित सिंहले २ विकेट लिए । 

खेलमा सदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ‌ओभरमा अलआउट हुँदै १४७ रन बनायो । हरमित सिंहले २० बलमा ५३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३० बलमा ३९ रन बनाए । 

काठमाडौँका कप्तान करण केसीले ४ तथा मिलिन्द कुमार, सन्नि पटेल र रशिद खानले समान २ विकेट लिए ।

काठमाडौँको जारी लिगमा यो दोस्रो खेल हो भने सुदूरले पहिलो खेल खेलेको हो । पहिलो खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएको थियो । 

काठमाडौँको कप्तानी करण केसीले गरेका छन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् । सुदूर साविक उपविजेता हो । 


तेस्रो खेलमा विराटनगरले पोखरालाई हरायो ५३ रनले

 एनपीएलको तेस्रो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अहिलेसम्मकै सर्वाधिक रन जोड्ने क्रममा ६ विकेटको क्षतिमा २२० रन बनायो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गर्ने क्रममा लोकेश बमले ४८ बलमा ७२ तथा मार्टिन गप्टिलले ३५ बलमा ६१ रन जोडे । 

त्यस्तै शुभम रन्जनेले १६ बलमा ३८ तथा बसिरअहमदले १३ बलमा २३ रन बनाए । माट टेलरले २ विकेट लिए । 

जवाफमा पोखराले १८ ओभर ५ बलमा अलआउट हुँदै १६७ रनमा समेटियो । कप्तान कुशल भुर्तेलले ३१ बलमा ५९ तथा एडम रोसिङटनले २१ बलमा ३९ रन बनाए । 

विराटनगरका सन्दीप लामिछाने, प्रतिस जीसी, शभम रन्जने र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए । 

दोस्रो खेलमा चितवनले कर्णालीलाई हरायो
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । दोस्रो संस्करणको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा भएको खेलमा चितवनले १६७ रनको चुनौती ६ विकेटको क्षतिमा १९ ओभर १ बलमा पूरा गरेको हो । रवि बोपाराले ३६ बलमा सर्वाधिक ५२ रन बनाए । 

त्यस्तै दीपक बोहराले ३६ बलमा ४२ तथा सैफ जैबले १६ बलमा ३८ रन बनाए । कप्तान कुशल मल्लले १५ बलमा २० रन जोडे । कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनायो । ओपनिङ ब्याट्सम्यान भारतीय प्रियांक पन्चालले ४८ बलमा ९० रन बनाए । पवन सर्राफले १६ बलमा अविजित रहँदै २७ रन जोडे । 

चितवनका सोइल तन्भिर, सैफ जेब र रवि बोपाराले एक एक विकेट लिए । 

चितवनको नेतृत्व कुशल मल्लले तथा कर्णालीको नेतृत्व सोमपाल कामीले गरेका हुन् । 

पहिलो खेलमा काठमाडौँले हरायो जनकपुरलाई 
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई काठमाडौँ गोर्खाजले ५ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो ।  जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ५४ रन बनाए । जारी एनपीएलको यो पहिलो अर्धशतक हो । जनकपुरका अन्य ब्याटर भने जम्न सकेनन् । 

तर ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको जनकपुरका लागि छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा मायान यादवले २९ बलमा ३४ तथा लहिरु सामाराकूनले २१ बलमा २२ रन बनाए । 

काठमाडौँका लागि अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिए । जवाफमा काठमाडौँले १८ ‌ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । काठमाडौँका लागि बेन चार्लस्वर्थले २३ बलमा ४६ तथा आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडे । अलराउन्डर मिलिन्द कुमारले २२ बलमा १९ रन जोडे । जोन सिम्पसनले ६ बलमा १३ रन जोडे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ