कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
829
Shares
सुर्खेत । कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को बार्षिक प्रतिवेदनअनुसार कर्णालीको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने अनुमान गरिएको छ ।
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४दशमलव१९ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो योगदान ४दशमलव२९ प्रतिशत रहने संशोधित अनुमान थियो ।
यस वर्ष मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको योगदान क्रमशः ५दशमलव२४ प्रतिशत, ३दशमलव१३ प्रतिशत र ३दशमलव९८ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकले गरेको छ ।
यस वर्ष समयमै धान रोपाइँ भएको, अन्य बर्षे बालीको समयमा पनि मौसम अनुकुलता भएको, आन्तरिक पर्यटनको प्रवद्र्धन भएको, वित्तीय सेवा, वित्तीय पहुँच, डिजिटल भुक्तानी, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार क्षेत्रमा क्रमश सुधार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।
रणनीतिक महत्वका सडक विस्तार भइरहेको, विद्युत प्रसारण लाइन निर्माण, पर्यटन पूर्वाधारको निर्माण, भूकम्प पुनः निर्माणका कार्य, यातायात, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि र खानेपानीसँग सम्बन्धित पूर्वाधारको निर्माण भईरहेकोले आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नसक्ने राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णालीको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) अनुसार प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३१दशमलव५० प्रतिशत योगदान रहेको छ । कर्णालीमा उद्योग क्षेत्रको योगदान भने ज्यादै न्यून ९दशमलव५८ रहेको छ । सेवा क्षेत्रको ५८दशमलव९१ प्रतिशत योगदान छ ।
कर्णालीको अर्थतन्त्रमा योगदान गर्ने कृषि क्षेत्रको उत्पादन र क्षेत्रफल भने निरन्तर घट्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णालीमा समग्र कृषि बालीले ढाकेको भूक्षेत्र आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ६दशमलव०८ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।
कर्णालीको कृषि क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको लगानीसमेत न्यून छ । गतवर्ष बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८दशमलव०२ प्रतिशत हिस्सा ओगटेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ७दशमलव७० प्रतिशतले कम हो ।
त्यस्तै, यस वर्ष कर्णाली प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४६दशमलव५२ प्रतिशत छ । बिजुलीका तार र केबल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०दशमलव० प्रतिशत छ भने, गलैंचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३दशमलव०८ प्रतिशत छ ।
समीक्षा वर्षमा औद्योगिक कर्जा २०८० कोे तुलनामा १दशमलव९४ प्रतिशतले कमी आएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६दशमलव५० प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ ।
सेवा क्षेत्रअन्तर्गत आर्थिक वर्ष २०८१/०८२मा कर्णाली भित्रिने पर्यटकको संख्या १दशमलव७२ प्रतिशतले वृद्धि भएको छ ।
भारत र चीनबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३दशमलव८५ प्रतिशत र २५दशमलव७७ प्रतिशतले कमी आएको छ भने तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या ९दशमलव१३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।