एनपीएलमा आज दुई खेल कर्णाली र लुम्बिनी तथा विराटनगर र काठमाडौँ भिड्दै, फेरियो समय
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
908
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दै छन् । खेलको समय फेरिएको छ । यो खेल बिहान ११ः१५ बजेदेखि नै हुनेछ । यसअघि पहिलो खेल ११ः४५ बजे हुँदै आएको थियो ।
दुवै टिम दोस्रो खेल खेल्दैछन् । लुम्बिनीले पहिलो खेल जितेको थियो भने कर्णालीले हारेको थियो ।
दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । खेल दिउँसो ३ः३० बजेदेखि शुरू हुँदैछ । दोस्रो खेल यसअघि ४ बजेदेखि हुँदै आएको थियो । विराटनगरले दोस्रो खेल खेल्दैछ । पहिलो खेल विराटनगरले जितेको थियो । काठमाडौँले तेस्रो खेल खेल्दैछ । पहिलो खेल जितेको काठमाडौँले दोस्रो खेल हारेको थियो ।
अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम लगातार दुई जितसहित ४ अंकबाट शीर्ष स्थानमा छ । विराटनगर र लुम्बिनीले शतप्रतिशत नतिजासहित २ अंक बटुलेका छन् ।
काठमाडौँ र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेको छ । पोखराले दुवै खेल हारेको छ । जनकपुर र कर्णालीले एक एक खेल हारेका छन् ।
यसअघिका खेलको नतिजाः
छैटौँ खेलमा सुदूरपश्चिमले हरायो पोखरालाई १८ रनले पराजित
छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्ने क्रममा पोखरा एभेन्जर्सलाई २१ रनले पराजित गर्यो । १९४ रनको चुनौती पछ्याएको पोखराले ८ विकेटको क्षतिमा १७५ रनमात्र बनाउन सक्यो । कप्तान कुशल भुर्तेलले ३२ बलमा ५३ तथा जेम्स नीशमले २५ बलमा ४७ रन जोडे । त्यस्तै डान डटवेटले १६ बलमा ३७ रन बनाए ।
हरमित सिंहले २ विकेट लिए । स्कट कुग्गेल्जिन, दिपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अभिनाश बोहरा र नरेन साउदले १-१ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन बनायो । पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्ने क्रममा जोश ब्राउनले ३५ बलमा ६८ तथा विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए । त्यस्तै क्रिस लिनले १३ बलमा ३१ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले १० बलमा १५ रन जोडे ।
जेम्स नीशमले ३ तथा आाकाश चन्द र डान डटवेटले २-२ विकेट लिए ।
पाँचौँ खेलमा लुम्बिनीको शानदार शुरूआत, चितवन ६ विकेटले पराजित
लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो ।
लुम्बिनीले १४३ रनको चुनौती १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । गुल्बादिन नैबले २४ बलमा अविजित रहँदै ४४ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले ४४ बलमा ३९ तथा सन्दीप जोराले १८ बलमा २८ रन बनाए ।
रिजन ढकालले २ विकेट लिए । चितवनले थुप्रै क्याच गर्ने अवसर गुमाएको थियो । यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षातिमा १४२ रन बनायो । रवि बोपाराले ५५ बलमा ६६ रन जोडे । रुबेन ट्रम्पलेम्यानले ३ विकेट लिए अभिषेक गौतम र गुल्बादिन नैबले समान २ विकेट लिए ।
रोहित पौडेलको कप्तानीमा लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले दोस्रो खेल खेलेको हो ।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।
गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो ।
चौथो खेलमा सुदूरपश्चिमले हरायो काठमाडौँलाई
नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक शुरूआत गरेको छ । सुदूरले लिगको चौथो खेलमा काठमाडौँ गोर्खाजलाई २९ रनले हराएको हो ।
काठमाडौँले १४८ रनको चुनौती पछ्याउने क्रममा १६ ओभर ५ बलमा अलआउट हुँदै ११८ रन बनायो । ओपनर आकाश त्रिपाठीले सर्वाधिक २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा स्कट कुग्ग्लेजिन, हेमन्त धामी र हर्मित सिंहले २ विकेट लिए ।
खेलमा सदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन बनायो । हरमित सिंहले २० बलमा ५३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३० बलमा ३९ रन बनाए ।
काठमाडौँका कप्तान करण केसीले ४ तथा मिलिन्द कुमार, सन्नि पटेल र रशिद खानले समान २ विकेट लिए ।
काठमाडौँको जारी लिगमा यो दोस्रो खेल हो भने सुदूरले पहिलो खेल खेलेको हो । पहिलो खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएको थियो ।
काठमाडौँको कप्तानी करण केसीले गरेका छन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् । सुदूर साविक उपविजेता हो ।
तेस्रो खेलमा विराटनगरले पोखरालाई हरायो ५३ रनले
एनपीएलको तेस्रो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अहिलेसम्मकै सर्वाधिक रन जोड्ने क्रममा ६ विकेटको क्षतिमा २२० रन बनायो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गर्ने क्रममा लोकेश बमले ४८ बलमा ७२ तथा मार्टिन गप्टिलले ३५ बलमा ६१ रन जोडे ।
त्यस्तै शुभम रन्जनेले १६ बलमा ३८ तथा बसिरअहमदले १३ बलमा २३ रन बनाए । माट टेलरले २ विकेट लिए ।
जवाफमा पोखराले १८ ओभर ५ बलमा अलआउट हुँदै १६७ रनमा समेटियो । कप्तान कुशल भुर्तेलले ३१ बलमा ५९ तथा एडम रोसिङटनले २१ बलमा ३९ रन बनाए ।
विराटनगरका सन्दीप लामिछाने, प्रतिस जीसी, शभम रन्जने र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।
दोस्रो खेलमा चितवनले कर्णालीलाई हरायो
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । दोस्रो संस्करणको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा भएको खेलमा चितवनले १६७ रनको चुनौती ६ विकेटको क्षतिमा १९ ओभर १ बलमा पूरा गरेको हो । रवि बोपाराले ३६ बलमा सर्वाधिक ५२ रन बनाए ।
त्यस्तै दीपक बोहराले ३६ बलमा ४२ तथा सैफ जैबले १६ बलमा ३८ रन बनाए । कप्तान कुशल मल्लले १५ बलमा २० रन जोडे । कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनायो । ओपनिङ ब्याट्सम्यान भारतीय प्रियांक पन्चालले ४८ बलमा ९० रन बनाए । पवन सर्राफले १६ बलमा अविजित रहँदै २७ रन जोडे ।
चितवनका सोइल तन्भिर, सैफ जेब र रवि बोपाराले एक एक विकेट लिए ।
चितवनको नेतृत्व कुशल मल्लले तथा कर्णालीको नेतृत्व सोमपाल कामीले गरेका हुन् ।
पहिलो खेलमा काठमाडौँले हरायो जनकपुरलाई
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई काठमाडौँ गोर्खाजले ५ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो । जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ५४ रन बनाए । जारी एनपीएलको यो पहिलो अर्धशतक हो । जनकपुरका अन्य ब्याटर भने जम्न सकेनन् ।
तर ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको जनकपुरका लागि छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा मायान यादवले २९ बलमा ३४ तथा लहिरु सामाराकूनले २१ बलमा २२ रन बनाए ।
काठमाडौँका लागि अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिए । जवाफमा काठमाडौँले १८ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । काठमाडौँका लागि बेन चार्लस्वर्थले २३ बलमा ४६ तथा आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडे । अलराउन्डर मिलिन्द कुमारले २२ बलमा १९ रन जोडे । जोन सिम्पसनले ६ बलमा १३ रन जोडे ।