स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
764
Shares
काठमाडौँ। सोलु हाइड्रोपावर लिमिटेडले आज (मंसिर ७ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गरेको छ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १ अर्ब रुपैयाँ बराबरका १ करोड कित्ता साधारण शेयर प्रतिशेयर रु १०० को दरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी निष्काशन गरिएको हो।
आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गते आवेदन दिने समय तोकिएको छ।
कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा स्थानीय प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयरलाई वर्गीकरण गरेको छ: सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयलाई ४० लाख कित्ता (४० प्रतिशत) र अन्य प्रभावित वडाका स्थानीय बासिन्दालाई ६० लाख कित्ता (६० प्रतिशत) गरी बाँडफाँट गरिने जनाएको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशत बराबरका १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ, जसले श्रम स्वीकृति प्रमाणित कागजातका आधारमा आवेदन दिन पाउनेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट रु २ फाराम शुल्क बुझाएर दरखास्त फाराम भरी आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था छ।