एनपीएलमा आज: शीर्ष स्थानको सुदूरपश्चिमलाई रोक्न लुम्बिनीको चुनौती, जनकपुर र पोखरा पहिलो जितको खोजीमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
734
Shares
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स तीन खेलमा एउटा मात्र जितेर अङ्क तालिकाको छैटौँ स्थानमा छ। उता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ (६ अङ्क)। सुदूरपश्चिम आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा छ।
अर्को खेलमा, अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर बोल्ट्स र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स जित आफ्नो पोल्टामा पार्ने दाउमा छन्। यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए।
अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका तीन ओटै खेल जितेको छ । विराटनगरले चार खेल खेलेकामा शुरुआती तीन खेल जिते पनि चौथो खेलमा हार बेहोरेको छ ।
चितवन तीन खेलबाट दुई जितसहित ४ अंकबाट तेस्रो तथा काठमाडौँ ४ खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै ४ अंकसहित चौथो स्थानमा छ । लुम्बिनी र कर्णालीले तीनमध्ये एक खेलमात्र जितेका छन् । पोखरा र जनकपुरले दुवै खेल हारेका छन् ।
यसअघिका खेलको नतिजाः
१२ औँ खेलमा चितवनले हरायो विराटनगरलाई
नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटमा विराटनगर किंग्सको अपराजित यात्रा रोकिएको छ । विराटनगरलाई चितवन राइनोजले ४८ रनले पराजित गरेको हो ।
लिगको १२ औँ खेलमा जितका लागि १७५ रनको चुनौती पछ्याएको विराटनगरले १६ ओभर ५ बलमा अलआउट हुँदै १२६ रनमात्र बनाउन सक्यो । तीन खेलाडीले मात्र दोहोरो स्कोर गरेको खेलमा मर्चेन्ट डे लाङ्गेले २२ बलमा ३९, प्रतिश जीसीले १२ बलमा ३० रन तथा साम हेज्लेटले ११ बलमा २२ रन बनाए ।
चितवनका लागि पर्साका रन्जित कुमारले २१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कमल ऐरीले २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १७४ रन बनायो । रवि बोपाराले लगातार तेस्रो अर्धशतक बनाउने क्रममा ३८ बलमा ६५ रन जोडे । सेफ जैबले ३० बलमा ३२ तथा देव खनालले २२ बलमा २८ रन जोडे ।
विराटनगरका लागि सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।
११ औँ खेलमा काठमाडौँ गोर्खाज विजयी, लुम्बिनी लायन्सलाई पराजित
काठमाडौँ २२ रनले विजयी भयो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ८ विकेटको क्षतिमा १५७ रन बनायो । मध्यक्रम छिट्टै ध्वस्त भए पनि कप्तान करण केसीले सनसनीपूर्ण ब्याटिङ गरेपछि काठमाडौँ सम्मानजनक स्थितिमा पुगेको थियो । करणले ११ बलमा अविजित रहँदै ३४ रन बनाए । आकाश त्रिपाठीले ३६ बलमा ३२ रन बनाए । सन्तोष यादवले १६ बलमा २६ रन जोडे ।
लुम्बिनीका लागि रोहित पौडेल गुल्बदिन नैब, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २-२ विकेट लिए ।
जवाफमा लुम्बिनीले १९ ओभर १ बलमा अलआउट हुँदै १३५ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि अलराउन्डर शेर मल्लले १८ बलमा २७ रन बनाए । दिलिप नाथले ३३ बलमा २५ रन जोडे ।
काठमाडौँका लागि मिलिन्द कुमार र गेर्हाल्ड इरास्मसले समान २ विकेट लिए ।
दशौँ खेलमा सुदूरपश्चिमले हरायो कर्णालीलाई
दशौँ खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ दनले हराएको छ । जितका लागि १४० रनको चुनौती पछ्याएको कर्णालीले १९ ओभर २ बलमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले २६ बलमा २७ तथा मार्क वाटले १० बलमा १७ रन बनाए ।
सुदूरपश्चिमका लागि दिपेन्द्रले २३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै हर्मित सिंह र अवनाश बोहराले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो । कप्तान दिपेन्द्र सिंह ऐरीले २८ बलमा सर्वाधिक ३९ रन बनाए । त्यस्तै आरिफ शेखले २५ बलमा २७ रन बनाए ।
कर्णालीका कप्तान सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिएका छन् ।
नवौँ खेलमा विराटनगरले हरायो जनकपुरलाई
नवौँ खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । विराटनगरका लागि शुभम रन्जनेले २९ बलमा ३७, बसिर अहमदले ३५ बलमा ३६ तथा लोकेश बमले २६ बलमा २८ रन जोडे । रुपेश सिंह र संगीथ कोर्रेले समान २-२ विकेट लिए ।
जवाफमा जनकपुरले ९ विकेटको क्षतिमा१२६ रनमात्र बनाउन सक्यो । जान निकोल लोफ्टि इटनले ३० बलमा ४१ रन बनाएर रनआउट भए । लहिरु मिलान्थाले २२ बलमा २३ रन जोडे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सूर्य तामाङले २ विकेट लिए । कम योगफल पनि जनकपुरले भेट्टाउन नसकेसँगै जनकपुरलाई दोस्रो संस्करण 'ब्याडलक' नै भएको छ ।
आठौँ खेलमा विराटनगर किंग्सले हरायो काठमाडौँ गोर्खाजलाई
आठौँ खेलमा विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गर्यो । जितका लागि १३५ रनको चुनौती पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । जर्ज मुन्सीले १६ बलमा ३६ रन बनाए । त्यस्तै मार्टिन गप्टिलले १९ बलमा २५ रन जोडे । शहाब आलमले २ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनायो । मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए ।
विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए ।
सातौँ खेलमा कर्णाली सामु लुम्बनी निरीह, वाटको शतकले नौ विकेटको जित
सातौँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई निरीह बनाउँदै ९ विकेटको जित हासिल गरेको छ । कर्णालीले १५७ रनको चुनौती १२ ओभर २ बलमै १ विकेटको क्षतिमा पूरा गरेको हो । मार्क वाटले ४४ बलमा अविजित रहँदै ११४ रन बनाए । उनले १२ छक्का र ६ चौका हानेका थिए ।
एनपीएलमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यो सिजनमा भने उनी शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १५६ रन बनायो । कप्तान रोहित पौडेलले ४३ बलमा ४९ रन जोडे ।
त्यस्तै रुबेन ट्रम्पेलमेनले १४ बलमा अविजित रहँदै २९ तथा जेजे स्मिथले १४ बलमा २३ रन जोडे । नन्दन यादवले २ विकेट लिए ।
यो खेलसँगै कर्णाली खेलमा फर्किएको छ भने लुम्बिनीले लय गुमाएको छ । पहिलो खेलमा कर्णाली पराजित भएको थियो भने लुम्बिनी विजयी भएको थियो
छैटौँ खेलमा सुदूरपश्चिमले हरायो पोखरालाई १८ रनले पराजित
छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्ने क्रममा पोखरा एभेन्जर्सलाई २१ रनले पराजित गर्यो । १९४ रनको चुनौती पछ्याएको पोखराले ८ विकेटको क्षतिमा १७५ रनमात्र बनाउन सक्यो । कप्तान कुशल भुर्तेलले ३२ बलमा ५३ तथा जेम्स नीशमले २५ बलमा ४७ रन जोडे । त्यस्तै डान डटवेटले १६ बलमा ३७ रन बनाए ।
हरमित सिंहले २ विकेट लिए । स्कट कुग्गेल्जिन, दिपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अभिनाश बोहरा र नरेन साउदले १-१ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन बनायो । पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्ने क्रममा जोश ब्राउनले ३५ बलमा ६८ तथा विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए । त्यस्तै क्रिस लिनले १३ बलमा ३१ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले १० बलमा १५ रन जोडे ।
जेम्स नीशमले ३ तथा आाकाश चन्द र डान डटवेटले २-२ विकेट लिए ।
पाँचौँ खेलमा लुम्बिनीको शानदार शुरूआत, चितवन ६ विकेटले पराजित
लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो ।
लुम्बिनीले १४३ रनको चुनौती १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । गुल्बादिन नैबले २४ बलमा अविजित रहँदै ४४ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले ४४ बलमा ३९ तथा सन्दीप जोराले १८ बलमा २८ रन बनाए ।
रिजन ढकालले २ विकेट लिए । चितवनले थुप्रै क्याच गर्ने अवसर गुमाएको थियो । यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षातिमा १४२ रन बनायो । रवि बोपाराले ५५ बलमा ६६ रन जोडे । रुबेन ट्रम्पलेम्यानले ३ विकेट लिए अभिषेक गौतम र गुल्बादिन नैबले समान २ विकेट लिए ।
रोहित पौडेलको कप्तानीमा लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले दोस्रो खेल खेलेको हो ।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।
गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो ।
चौथो खेलमा सुदूरपश्चिमले हरायो काठमाडौँलाई
नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक शुरूआत गरेको छ । सुदूरले लिगको चौथो खेलमा काठमाडौँ गोर्खाजलाई २९ रनले हराएको हो ।
काठमाडौँले १४८ रनको चुनौती पछ्याउने क्रममा १६ ओभर ५ बलमा अलआउट हुँदै ११८ रन बनायो । ओपनर आकाश त्रिपाठीले सर्वाधिक २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा स्कट कुग्ग्लेजिन, हेमन्त धामी र हर्मित सिंहले २ विकेट लिए ।
खेलमा सदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन बनायो । हरमित सिंहले २० बलमा ५३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३० बलमा ३९ रन बनाए ।
काठमाडौँका कप्तान करण केसीले ४ तथा मिलिन्द कुमार, सन्नि पटेल र रशिद खानले समान २ विकेट लिए ।
काठमाडौँको जारी लिगमा यो दोस्रो खेल हो भने सुदूरले पहिलो खेल खेलेको हो । पहिलो खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएको थियो ।
काठमाडौँको कप्तानी करण केसीले गरेका छन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् । सुदूर साविक उपविजेता हो ।
तेस्रो खेलमा विराटनगरले पोखरालाई हरायो ५३ रनले
एनपीएलको तेस्रो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अहिलेसम्मकै सर्वाधिक रन जोड्ने क्रममा ६ विकेटको क्षतिमा २२० रन बनायो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गर्ने क्रममा लोकेश बमले ४८ बलमा ७२ तथा मार्टिन गप्टिलले ३५ बलमा ६१ रन जोडे ।
त्यस्तै शुभम रन्जनेले १६ बलमा ३८ तथा बसिरअहमदले १३ बलमा २३ रन बनाए । माट टेलरले २ विकेट लिए ।
जवाफमा पोखराले १८ ओभर ५ बलमा अलआउट हुँदै १६७ रनमा समेटियो । कप्तान कुशल भुर्तेलले ३१ बलमा ५९ तथा एडम रोसिङटनले २१ बलमा ३९ रन बनाए ।
विराटनगरका सन्दीप लामिछाने, प्रतिस जीसी, शभम रन्जने र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।
दोस्रो खेलमा चितवनले कर्णालीलाई हरायो
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । दोस्रो संस्करणको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा भएको खेलमा चितवनले १६७ रनको चुनौती ६ विकेटको क्षतिमा १९ ओभर १ बलमा पूरा गरेको हो । रवि बोपाराले ३६ बलमा सर्वाधिक ५२ रन बनाए ।
त्यस्तै दीपक बोहराले ३६ बलमा ४२ तथा सैफ जैबले १६ बलमा ३८ रन बनाए । कप्तान कुशल मल्लले १५ बलमा २० रन जोडे । कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनायो । ओपनिङ ब्याट्सम्यान भारतीय प्रियांक पन्चालले ४८ बलमा ९० रन बनाए । पवन सर्राफले १६ बलमा अविजित रहँदै २७ रन जोडे ।
चितवनका सोइल तन्भिर, सैफ जेब र रवि बोपाराले एक एक विकेट लिए ।
चितवनको नेतृत्व कुशल मल्लले तथा कर्णालीको नेतृत्व सोमपाल कामीले गरेका हुन् ।
पहिलो खेलमा काठमाडौँले हरायो जनकपुरलाई
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई काठमाडौँ गोर्खाजले ५ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो । जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ५४ रन बनाए । जारी एनपीएलको यो पहिलो अर्धशतक हो । जनकपुरका अन्य ब्याटर भने जम्न सकेनन् ।
तर ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको जनकपुरका लागि छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा मायान यादवले २९ बलमा ३४ तथा लहिरु सामाराकूनले २१ बलमा २२ रन बनाए ।
काठमाडौँका लागि अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिए । जवाफमा काठमाडौँले १८ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । काठमाडौँका लागि बेन चार्लस्वर्थले २३ बलमा ४६ तथा आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडे । अलराउन्डर मिलिन्द कुमारले २२ बलमा १९ रन जोडे । जोन सिम्पसनले ६ बलमा १३ रन जोडे ।