एनपीएलमा अपराजित रहँदै प्लेअफमा पुग्ने लक्ष्य छ – विनोद भण्डारी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
704
Shares
काठमाडौं। सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारीले आफ्नो टिम अपराजित रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा रहेको बताएका छन्।
लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जितसहित सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ। आज सम्पन्न खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले सुदूरपश्चिम साविक उपविजेता टोली समेत रहेको उल्लेख गर्दै भने, “अहिलेलाई हाम्रो लक्ष्य अपराजित रहँदै प्लेअफमा पुग्ने हो। त्यसपछि मात्रै फाइनल र च्याम्पियनका लागि सोच्छौँ।”
लुम्बिनीलाई ७ विकेटले हराएको खेलमा विनोदले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे र ‘प्लेयर अफ दी म्याच’ पाए।
त्यसैगरी लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीका कप्तान रोहित पौडेलले बाँकी खेलमा राम्रो गर्दै प्लेअफमा पुग्ने दाबी गरे। उनले भने, “अब हामीले तीन खेल खेल्न बाँकी छ। ती खेलहरूमा जित निकालेर प्लेअफमा पुग्छौँ भन्ने विश्वास छ।”
सुदूरपश्चिम लगातार चौथो जित निकालेर ८ अङ्कका साथ शीर्ष स्थानमा छ। चारमध्ये एक खेल मात्रै जितेको लुम्बिनी दुई अङ्कसहित छैटौँ स्थानमा छ। लुम्बिनीले प्लेअफमा पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब छ।