arrow

लालबाबुले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएर बैंक र व्यापारीको करोडौँ ठगेको खुलासा

logo
दीपेन्द्र चौहान, 
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
lalbabu-gupta-illegal-cirizenship.jpg

वीरगञ्ज। पूर्वी चम्पारन रक्सौल नगर परिषद्–वडा नं ११ घर भएका रामकुमार प्रसादका छोरा लालबाबु साहले नाम–वतन ढाँटेर झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता मात्र लिएका छैनन्, नेपाली बैंक र व्यापारीलाई करोडौँ रुपैयाँ चुना लगाएर हैरान पारेको घटना प्रकाशमा आएको छ ।

स्व. रामकुमारका दुई छोरा लालबाबु र रामबाबुमध्ये लालबाबुले झुटो विवरण पेश गरी नामसमेत परिवर्तन गरेर ‘प्रेम कुमार गुप्ता’ को नामले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएका छन्।

ढाँटेको कुरा काटे मिल्दैन भन्ने उखान द्वैध नागरिक प्रेम कुमार गुप्ताउर्फ लालबाबुको हकमा शतप्रतिशत लागू हुने भएको छ। काठमाडौँका व्यापारी ओमप्रकाश मोरको सामान गोदामबाट चोरेर बिक्री गरेको बापत यिनले मोरलाई स्थानीय भद्र–भलादमीको रोहबरमा चार करोड एक लाखको चेक दिएका थिए । 

त्यो चेक बाउन्स भएपछि मोरले जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेका थिए। उनको हकमा फैसला आएपछि लालबाबुले आफ्नो श्रीमती रिना देवी साहको नाममा ललितपुर महानगरपालिका–वडा नं. २ मा रहेको घर ओमप्रकाश मोरलाई दिने भनेका थिए । 

सो बमोजिम उनले लक्ष्मी सनराइज बैंक लिमिटेड वीरगञ्जमा धितो राखी रिनादेवी साहको नाममा ऋण लिएको रकम चुक्ता गरी ललितपुर मालपोत कार्यालयको नाममा फुकुवा आदेशको पत्र २०८१/१२/१७ गते लेख्न लगाई आफैँ पत्र बुझे । 

बैंकले लेखेको पत्रमा उनले अंग्रेजीमा प्रेमकुमार गुप्ता लेखेर दस्तखत गरी पत्र बुझेका छन् । बैंकले लेखेको सोही पत्रमा रिनादेवी साहका श्रीमान् लालबाबु साह भनेर उल्लेख गरिएको छ।

प्रेमकुमार गुप्ताले बैंकबाट फुकुवा गरेको पत्र बुझेर पर्सा जिल्ला अदालतमा ‘मेरो श्रीमतीको नाममा रहेको घर बिगो माग भए बमोजिम लिन आग्रह गर्दछु’ भन्दै २०८१ चैत १९ गते निवेदन चढाएका थिए । 

तर बैंकबाट बुझेको पत्र प्रेम कुमार गुप्ताले मालपोत कार्यालय ललितपुरमा बुझाएनन् । पर्सा जिल्ला अदालतले मंसिर ७ गते ललितपुर मालपोत कार्यालयबाट ‘फुकुवा भएको कि नभएको’ जानकारी माग्न आदेश गरेबमोजिम मालपोत कार्यालय ललितपुरले बैंकबाट फुकुवाको कागज नआएको जनाएको छ।

यस सन्दर्भमा बुझ्न खोज्दा प्रेमकुमार गुप्ताले केही बताउन चाहेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ