रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा घरै पिच्छेजस्तो सहकारीका बोर्ड छन् ।
ती सहकारीको बीचमा एउटा सहकारीको छुट्टै पहिचान छ ।
महिलाहरूले मात्र सञ्चालन र व्यवस्थापन गरेको सहकारी जसको पहिचान अलग छ ।
महिलाहरूको सञ्चालन र व्यवस्थापन रहेको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनको १९ वर्ष पूरा गरेको छ ।
१९ वर्षमा संस्था झण्डै एक करोड रुपैयाँको मालिक भएको छ ।
दिदी बहिनीलाई सानातिना काम गर्न ऋणै भए पनि दिने सहयोगी भएको छ । दिदी बहिनीको सानो सानो रकम जम्मा गर्ने थलो भएको छ ।
आय आर्जनका लागि ऋण लिन चाहने महिलाका लागि सहकारीले ब्याजसमेत घटाएको संस्थाकी अध्यक्ष सोविता न्यौपाने सुवेदी बताउँछिन् । विभिन्न खालका तालिम लिन चाहने महिलाका लागि संस्थाले तालिमसमेत दिने उनले जानकारी दिइन् ।
सो सहकारीको कारोबार रकम करिब ८४ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको लगानी भएको कुल ऋण ५४ लाख ६३ हजार पाँच सय छ भने शेयर पूँजी दुई लाख ९० हजार छ सय रुपैयाँ छ ।
संस्थाको साधारण जगेडा कोषमा छ लाख सात हजार चार सय ३१ रुपैयाँ छ ।
सुरक्षित पूँजी फिर्ता कोषमा पाँच लाख ८३ हजार १५ रुपैयाँ छ ।
अन्य वैधानिक कोषहरूमा आठ लाख ५५ हजार सात सय ७१ रुपैयाँ छ ।