arrow

एनआईसी एशिया बैङ्क र नेपाल क्लियरिङ हाउसबीच 'नेपालपे कार्ड' जारी गर्न रणनीतिक सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
nic-asia-bank-agreement-nchl-nepal-pay-dec-2025.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो भुक्तानी प्रणालीलाई थप मजबुत बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकहरूलाई 'नेपालपे कार्ड' उपलब्ध गराउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग एक रणनीतिक सम्झौता गरेको छ।

उक्त सम्झौता पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै बैङ्क, नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित 'स्वदेशी कार्ड योजना' अन्तर्गतको 'नेपालपे कार्ड' आफ्ना ग्राहकहरूलाई जारी गर्ने प्रमुख साझेदार बनेको छ। साथै, यसले बैङ्कलाई क्लियरिङ हाउसको 'राष्ट्रिय कार्ड स्विच' को मुख्य साझेदारका रूपमा समेत स्थापित गरेको छ।

यस सम्झौताले बैङ्कलाई नेपालको राष्ट्रिय भुक्तानी स्विचमा पूर्ण रूपमा आबद्ध हुन सघाउनुका साथै स्वदेशी कार्डका रूपमा चिनिने 'नेपालपे कार्ड' जारी गर्ने बाटो खुला गरेको छ। सम्झौताअनुसार देशभरका 'पोइन्ट अफ सेल' (पीओएस) र एटिएम सञ्जालमार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचनाअन्तर्गत रहने सुनिश्चित गरिएको छ।

यस कदमले ग्राहकहरूलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गर्दै डिजिटल बैङ्किङप्रतिको बैङ्कको दृढ प्रतिबद्धतालाई थप टेवा दिनेछ।

'नेपालपे कार्ड' मार्फत डिजिटल भुक्तानी गर्दा देशमा वित्तीय पहुँच विस्तारमा उल्लेख्य योगदान पुग्ने विश्वास बैङ्कले लिएको छ। साथै, स्वदेशी कार्ड योजनामा ग्राहकहरूको सक्रिय सहभागिताले बैङ्किङ सेवालाई सरल र सहज बनाउनुका साथै मुलुकमा नगदरहित अर्थतन्त्रको विकास गर्न समेत मद्दत पुग्ने बैङ्कको अपेक्षा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ