काठमाडौँ । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशङ्कामा एउटा 'लो–प्रोफाइल' (पहिचान लुकाइएको) डुङ्गालाई सशस्त्र प्रहार गरी डुबाइदिएको छ। अमेरिकी दक्षिणी कमाण्डका अनुसार यस 'काइनेटिक' आक्रमणमा परी डुङ्गामा सवार एक पुरुषको मृत्यु भएको छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथको प्रत्यक्ष निर्देशनमा संयुक्त कार्यदल 'सदर्न स्पियर' ले उक्त कारबाही गरेको हो। गुप्तचर सूचनाका आधारमा सो डुङ्गा लागुऔषध ओसारपसारका लागि परिचित मार्ग हुँदै गइरहेको र आतङ्कवादी सङ्गठनद्वारा सञ्चालित रहेको पुष्टि भएपछि आक्रमण गरिएको कमाण्डले जनाएको छ। मारिएका व्यक्तिलाई अमेरिकाले 'नार्को–टेररिस्ट' (लागुऔषध आतङ्कवादी) को संज्ञा दिएको छ।
पेन्टागनको पछिल्लो तथ्याङ्कअनुसार सेप्टेम्बरको सुरुदेखि हालसम्म क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा २९ भन्दा बढी शङ्कास्पद लागुऔषध डुङ्गाहरू डुबाइसकिएको छ। यी शृङ्खलाबद्ध कारबाहीहरूमा अहिलेसम्म कम्तीमा १०५ जनाको ज्यान गइसकेको छ। विगत चार महिनादेखि अमेरिकाले भेनेजुएलाको तटीय क्षेत्र नजिक ठुलो सङ्ख्यामा सैन्य उपस्थिति कायम राखेको छ।
अमेरिकाले यी सैन्य कारबाहीहरू लागुऔषध तस्करी नियन्त्रणका लागि भएको दाबी गरे पनि भेनेजुएलाले भने यसको कडा विरोध गरेको छ। भेनेजुएला सरकारले अमेरिकी उपस्थितिलाई आफ्नो देशको सत्ता परिवर्तन गराउने 'अप्रत्यक्ष षड्यन्त्र' भन्दै भर्त्सना गरेको छ।