क्रिसमसले आपसी प्रेम र भाइचारा प्रवद्र्धन गर्ने राष्ट्रपतिको विश्वास
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
636
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली इसाई धर्मावलम्बीहरूलाई शुभकामना दिँदै यस पर्वले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। आज जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले यस्ता चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान र धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावनालाई अझ प्रगाढ बनाउने उल्लेख गरेका छन्।
जिसस क्राइस्टको जन्मदिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ तारिखमा मनाइने यो पर्व प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन भएको राष्ट्रपतिले सन्देशमा बताएका छन्। उनले क्रिसमसले मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा असल आचरण र भाइचारालाई प्रवद्र्धन गर्न सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा समेत गरेका छन्।
नेपालका विभिन्न स्थानमा विविध कार्यक्रमसहित मनाइने यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास र एकताको भावनालाई अझ बलियो बनाउन सहयोग पुगोस् भन्दै राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गरेका छन्। उनले पर्वको माध्यमबाट सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउनु आजको आवश्यकता रहेकोमा जोड दिएका छन्।