arrow

सुन्नुस्त मेरो कुरा ! 

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०८२ पुष २२ मंगलबार
shiva-pd-pokhrel-82-9-22.jpg

ओख्खो! उहाँ हुँदा हामी दिन दिनै हाँसिन्थ्यो। उबेलामा हामीले कति ठेलियो, आजकल त के दाउरा गर्ने ? म केको ठूलो हुनु, उहाँ हाम्रो सर नै ठूलो हो भन्नुहुन्थ्यो । उहाँकै पार्टीलाई भोट दिने हो अनि उहाँलाई नै जिताउने हो पनि भन्नुहुन्थ्यो। 

सुन्नुस्त मेरो कुरा । ई...अन्त जित्यो भने त सकियो अब, भन्दा पनि हो जस्तै लाग्थ्यो । भेलु सर अब हुनुहुन्न । अब कसले प्रचार गर्ने ? सुन्नुस्त मेरो कुरा । उहाँलाई अनि म लगायतलाई पनि थाहा नभएको कुरा धेरै थिए । कुलङ्गारहरूले अवसर पाउँदा देशलाई आफ्नो व्यवसायको रुपमा सम्झिएर निकटका गुलाम गर्न सक्ने केही तिघ्रेहरुका लागि बिना परिश्रम मनग्य कमाउन मिल्ने एकाघरको व्यवसायका रूपमा विकास गरे । 

झुक्किएका हजारौँ गरिबका सोझा छोराछोरी रोजगारी पाउने र पेटभर खान पाउने नाममा मरे । जनताले डराएर एक पटकका लागि देशको जिम्मा दिए तर नतिजा रातभर झुम्म पानीमा व्यस्त भएर उमेर पाको हुने बाहेक केही पनि नापेनन् । 

बिहान व्युझिँदा उही पानी आवश्यक पर्ने अवस्थामा परिवर्तन भए । 

ओख्खो !अर्को पार्टी छ फेरि । उहाँ नभए आकाश खसेर नेपाल पुरिन्छ अनि सबै सकिन्छ भन्ने पनि छन् यो देशमा । नेपाल उसलेमात्र जोगाएको हो भनेर विश्वास गर्ने ठूलो ठगहरुको जमात छ । 

उसले नै आज नेपाल जोगाएर राखेको हो भनेर भन्दा भेलु सरले भन्नुहुन्थ्यो ई... मसँग अलावला कुरा गर्ने हैन भनेर । ओख्खो ! उहाँ अमेरिकाकै आडमा तेलको खानी भएको देशमा खुल्किएको भए, ट्रम्पले अण्डरवेयर लगाएको अवस्थामा नै उठाएर उसकै देशको जेलमा कोचिदिन्थे । 

धेरै झुट बोल्न हुँदैन । सामान्य स्वस्थ्य मानिसको आयु पनि लगभग ८० हाराहारीमा नै सकिने हो। उहाँको पछि लाग्ने कहिल्यै कुनै व्यवसायमा आवद्ध नभएका तरमाराहरुको विचार फरक हुन सक्छ । उहाँहरु आज पनि मदन भण्डारी र मनमोहन अधिकारीको नाम लिँदा लजाउनु पर्ने थियो तर लाज नै मान्नु हुन्न ।

ओख्खो ! अर्को पार्टी छ फेरि, आफ्नै पार्टीका कार्यकर्तालाई नै करकापमा पारेर असुल्ने । चुनावमा टिकटका लागि ठूलो टाउकेलाई बुझाउनु पर्छ भनेर विगत देखिनै व्यवसायको रुपमा असुल्ने । भुटानमा निहुँ खोजेका कारण उताबाट भारतको बाटो हुँदै हाम्रो देश खेदिएकालाई अमेरिकालगायत तेस्रो देश पठाउँदा अलि अलि त हाम्रो घरमा पनि चाहियो नि भनेर डकैत गर्ने तर कहिल्यै लाज नमान्ने । 

८० वर्ष जत्तिमा मानिस लगभग मर्छ भन्ने बारेमा कहिल्यै चेतना नआउने । दुई जना होनहार युवाले समय सापेक्ष रूपमा चल्न खोच्दा निकटका तरमाराहरुको सल्लाहमा चल्ने । अनि नाम भने बीपी, किसुनजी, महामानव सुशील कोइरालाको लिने । भगवानले जन्माउँदा नै गल्ति गरेका कुलङ्गार सरहरू लाज नै मान्नु हुन्न । 

ओख्खो ! अर्को पार्टी आएको छ फेरि हाम्राले थोरै अपचलन गरेको । विगतका पुरानाले धेरै गरेको, त्यसैले हामीमात्र पवित्र हौँ, हाम्रो मालिक त सही हो, हामीले नै अब देशमा मनलाग्दि गर्ने हो भन्दैछ । थुइक्क, ठूला चोर सरहरू, साना चोर सरहरू सबै चोर सरहरू समान नै हो । 

पहिल्यै व्यवसाय गरेर अब उप्रान्त चोर्न नपर्ने भए त केही छैन तर यता ठूला चोरलाई सबै दोष दिएर स-साना चोर हौँ भनेर चोर्ने व्यवसाय शुरू गर्यौं भने यता पनि ट्रम्प बोलाएर थन्क्याइ दिन नपरोस् । 

ओख्खो ! अर्को पार्टी छ फेरि पहिलादेखि नै के-के अवतारले देश जोगाएको हो, त्यसको भागिदार हामी नै हो भन्छन् । तिम्रा पुर्खाले देश र जनताको लागि राम्रो गरिदिएको भए आज पनि उन्कै गुणगान हुन्थ्यो । 

समय धेरै घर्किसक्यो । करिब-करिब सकिएकै सम्झिएर बसे हुन्छ । भेलु सरलाई सम्भावना छ र भनेर सोध्यो भने उहाँ भएको भए इ... भनेर  देखाइदिनुहुन्थ्यो ।
 
ओख्खो !अब कसले देश बनाउने भन्ने बारेमा सोधखोज हुन थालेको छ । देशमा कसैले केही गर्न पर्दैन । सबै जनता सभ्य हुने, स-साना व्यवसायीले पनि आफ्नो स्थानबाट राम्रो व्यवहार सहितको व्यापार गर्ने, पर्यटन व्यवसायीले पनि एक वर्षमा नै करोडौँ कमाउनका लागि मगज नलगाउने र थोरै आय आर्जन गरी उच्च गुणस्तरको सेवा प्रदान गर्ने, संसारमा सबैभन्दा महङ्गो अखाद्य रक्सी बेच्ने कुलङ्गारहरूले सुलभ तथा गुणस्तरीय अल्कोहल बिक्री गर्ने भइरहेको छ ।

के-के नाम गरेका पालिकाहरूले जथाभावी फोहर नफाल्ने, बाटामा बिहानदेखि बेलुकासम्म थुक्दै हिँडने मानव आकारका प्रेतहरुलाई जेलमा लगेर थन्क्याइ दिने, बाटोमा भएको खाल्डाहरू पुर्ने, बनेको रोडको बीच भागमा फ्लाई ओभरको नाममा बाटोको आधा भागमा माटो थुपारेर तलबाट सजिलै हिँडन मिल्ने बाटोलाई नाफा खानका लागि नउचाल्ने र पिच नभएको बाटोमात्र पिच गरे पुग्छ र त्यो भन्दा बढी केही नाप्नु पर्दैन ।

सकिन्छ भने छिमेकी देशबाट ठूलो सँख्यामा पर्यटक भित्र्याएर देशका लागि सहयोगी भूमिका खेलौं । यो देशमा केही गर्न बाँकी छैन । ओख्खो ! 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ