arrow

राउटेलाई प्राथमिक उपचार तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
rautey-surkhet.jpg

काठमाडौँ । कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको लोपोन्मुख फिरन्ते राउटे समुदायका युवा युवतीहरूका लागि सुर्खेतमा विशेष प्राथमिक उपचार तालिम सुरु गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको प्राविधिक सहयोगमा आयोजित यस तालिममा आठ युवती र सात युवा गरी १५ जना सहभागी छन्।

हाल सुर्खेतको लेकबेँसी नगरपालिका–७ को जङ्गल क्षेत्रमा बसोबास गरिरहेका राउटे समुदायका युवाहरूलाई चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या पर्दा अस्पताल पुर्‍याउनुअघि अपनाउनुपर्ने आधारभूत सीपहरू प्रयोगात्मक रूपमा सिकाइँदै छ।

तालिमको शुभारम्भ गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कुनै समय 'पैसा छोए पाप लाग्छ' भन्ने मान्यता बोकेको राउटे समुदायका नयाँ पुस्ताले आधुनिक चिकित्साप्रति देखाएको चासो सकारात्मक परिवर्तनको सङ्केत भएको बताए। उनले राउटे समुदायको सभ्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरूको सामाजिकीकरणका लागि प्रदेश सरकारले 'राउटे नीति' र 'राउटे करिडोर' निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको जानकारी दिए।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गलमा फिरन्ते जीवन बिताउने यो समुदायको जनसङ्ख्या अहिले मात्र १३३ मा झरेको छ। अत्यधिक मदिरा सेवन र अस्वस्थ जीवनशैलीका कारण जनसङ्ख्या घट्दै गएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटेहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको र उनीहरूलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव पठाइसकिएको बताए। राउटे समुदायको जीविकोपार्जनमा काम गर्दै आएको संस्था सोसेक नेपालका अनुसार परम्परागत घरेलु उपचारका कारण स्वास्थ्य जटिलता बढ्दै गएकाले युवाहरूलाई आधुनिक उपचार पद्धतिमा अभ्यस्त गराउन यो तालिम कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ