एनआईसी एसियाको इटहरी शाखामा कर्मचारीमाथि दुर्व्यवहार र पेट्रोल छर्कने प्रयास, दोषीमाथि कडा कारबाही गर्न बैंकको माग
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
568
Shares
तस्बिर : फाइल
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्नो इटहरी शाखामा भएको अराजक गतिविधि र कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैङ्कले एक विज्ञप्ति जारी गर्दै शाखा कार्यालयमा 'कलुषित मनसाय' का साथ प्रवेश गरी कर्मचारीलाई गालीगलौज गर्ने तथा जीउज्यानमा नै जोखिम पुर्याउने किसिमका गतिविधि भएको भन्दै गम्भीर आपत्ति जनाएको हो।
पेट्रोल छर्केर आगजनीको प्रयास बैङ्कका अनुसार, अराजक समूहले शाखा कार्यालयभित्र हुलहुज्जत र होहल्ला गर्नुका साथै आगजनी तथा जिउज्यानमा हानी पुर्याउने उद्देश्यले पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थ छर्केका थिए। यस्तो कार्यले कर्मचारीको सुरक्षामा गम्भीर चुनौती थपिएको र कार्यस्थलमा त्रासको वातावरण सिर्जना भएको बैङ्कले उल्लेख गरेको छ।
'बैङ्किङ क्षेत्रमै असुरक्षा बढ्यो' विज्ञप्तिमा बैङ्कले भनेको छ, "बैङ्क जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता गैर कानुनी तथा उच्छृङ्खल गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुँदैनन्।" यस्ता क्रियाकलापले बैङ्कमा कार्यरत कर्मचारीहरूमा मात्र नभई समग्र बैङ्किङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना गरेको बैङ्कको ठहर छ।
मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्याइरहेको बैङ्किङ क्षेत्रलाई नै नकारात्मक असर पार्ने गरी भएको यो घटनाले काम गर्ने वातावरणमा गम्भीर असर पुगेको भन्दै बैङ्कले चिन्ता व्यक्त गरेको छ।
कारबाहीका लागि अपिल कुनै पनि बहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सह्य नहुने स्पष्ट पार्दै एनआईसी एशिया बैङ्कले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गर्न माग गरेको छ। बैङ्कले प्रचलित कानून बमोजिम दोषीलाई कारबाही गर्न र बैङ्क तथा कर्मचारीहरूको शान्ति सुरक्षा कायम गराउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।