arrow

एनआईसी एशिया बैङ्कको आग्रह : खातामा प्यान र इमेल यसरी अद्यावधिक गर्नुहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
nic-asia-bank-red-always.jpg
तस्बिर : फाइल

काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई बैङ्क खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। बैङ्कले एक सूचना जारी गर्दै सहज बैङ्किङ सेवा र करसम्बन्धी विवरण चुस्त राख्न यस्तो अनुरोध गरेको हो।

किन गर्ने प्यान अद्यावधिक ? बैङ्कका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई 'ईटीडीएस' रेकर्डमा जनाउन प्यान नम्बर अत्यावश्यक हुन्छ। ग्राहकले आफ्नो प्यान नम्बर बैङ्क खातामा अद्यावधिक गराएपछि कर कट्टीको विवरण स्वतः आन्तरिक राजश्व विभागको प्रणालीमा प्रविष्ट हुन्छ।

यसले गर्दा आयकरको प्रणालीले स्वचालित रूपमा ‘अनुसूची १०’ मा कर कट्टीको विवरण मिलान गर्नेछ। फलस्वरूप, ग्राहकले कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र लिनका लागि बैङ्कसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने बैङ्कले विश्वास लिएको छ।

बैङ्कले सचेत गराउँदै भनेको छ, "ग्राहकहरूले प्यान अद्यावधिक नगराएको कारणले ईटीडीएसमा ब्याज कर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैङ्क जिम्मेवार हुनेछैन।"

कसरी गर्ने अद्यावधिक ? ग्राहकहरूले घरमै बसेर डिजिटल माध्यमबाट वा शाखा कार्यालयमा गएर विवरण अद्यावधिक गर्न सक्नेछन्:

  • १. वेबसाइट मार्फत: बैङ्कको पोर्टल panupdate.nicasiabank.com मा गएर।
  • २. मोबाइल बैङ्किङ : 'एनआईसी एशिया मो बैङ्क' एपमा रहेको "प्यान अपडेट" विकल्पमा ट्याप गरेर।
  • ३. शाखा कार्यालय: आफूलाई पायक पर्ने एन आई सी एशिया बैङ्कको जुनसुकै शाखामा आवेदन दिएर।

इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध बैङ्कले प्यानसँगै इमेल ठेगाना पनि अद्यावधिक गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ। ग्राहकले मोबाइल बैङ्किङ एपको 'माई प्रोफाइल' मा गई 'चेन्ज इमेल' छनौट गरेर वा बैङ्कको भिडियो केवाईसी मार्फत इमेल अद्यावधिक गर्न सक्नेछन्।

यदि यसअघि नै प्यान वा इमेल उपलब्ध गराएर पनि विवरण अद्यावधिक नभएको खण्डमा बैङ्कको नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बर १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैङ्कले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ