पाल्पाको जोर्तेमा टिपर दुर्घटना: एक जनाको मृत्यु, थप खोजी जारी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
784
Shares
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ स्थित जोर्तेमा आज बिहान भएको टिपर दुर्घटनामा एक जनाको ज्यान गएको छ। विश्वकर्मा मन्दिर नजिकै सडकबाट करिब २५० मिटर तल खोलामा टिपर खस्दा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लोड गरी गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर बिहान ४:०० बजे दुर्घटनामा परेको हो। प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक सुनारको स्थायी ठेगाना खुल्न बाँकी छ भने उनी सवारी चालक हुन् वा अन्य यात्रु भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हार्थोक र अर्गलीबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। बिहानको समयमा अँध्यारो र घटनास्थल खोला तथा झाडी भएको क्षेत्रमा रहेकाले खोजी कार्यमा केही कठिनाइ भएको प्रहरीले जनाएको छ। टिपरमा अन्य व्यक्तिहरू पनि सवार थिए वा थिएनन् भन्ने यकिन गर्न अहिले घटनास्थलमा खोजी र अनुसन्धान कार्य तीव्र पारिएको छ।