तेहरानको चेतावनीपछि मध्यपूर्वमा युद्धको त्रास: कतारमा रहेका अमेरिकी सैनिक सुरक्षित स्थानतर्फ सर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
2.2k
Shares
काठमाडौँ। कतारमा रहेको संयुक्त राज्य अमेरिकाको अल उदेइद सैन्य अखडा छाड्न केही सैनिकलाई आग्रह गरिएको दुई कूटनीतिक स्रोतले बुधबार एएफपीलाई बताएका छन्। वासिङ्टनले इरानी सरकारले प्रदर्शनकारीमाथि गरेको कारबाहीको जवाफ दिने धम्की दिएपछि यो परिस्थिति उत्पन्न भएको हो।
यसको प्रतिउत्तरमा तेहरानले नयाँ आक्रमण भएको खण्डमा अमेरिकी सेना र सैन्य सामान ढुवानी गर्ने जल तथा स्थल यातायातका साधनमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। कतारको अन्तर्राष्ट्रिय सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा वर्तमान क्षेत्रीय तनावको प्रतिक्रियास्वरूप यस्तो कदम चालिएको र कतारले महत्वपूर्ण पूर्वाधार तथा सैन्य सुविधाहरूको सुरक्षाका लागि आवश्यक सबै उपायहरू अपनाएको उल्लेख गरिएको छ।
एक कूटनीतिक स्रोतले बुधबार साँझसम्म कैयौँ सैनिकलाई सैन्य आधार छाड्न भनिएको जानकारी दिएको छ भने अर्को स्रोतले पनि नाम नबताउने सर्तमा यसको पुष्टि गरेको छ। यद्यपि कतारस्थित अमेरिकी दूतावासले अल उदेइदमा कर्मचारीको आवागमनबारे कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ।
गत जुनमा अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अखडालाई नै निशाना बनाएको पृष्ठभूमि रहेको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीका वरिष्ठ सल्लाहकार अली शामखानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि आक्रमणको जवाफ दिन इरान तयार रहेको र आफ्नो क्षमता प्रदर्शन गर्न निर्देशन दिइसकेको बताएका छन्।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा गत बिहीबारदेखि सुरु भएको व्यापक प्रदर्शनले वर्तमान धार्मिक नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती खडा गरेको छ। नर्वेमा रहेको गैरसरकारी संस्था इरान ह्युमन राइट्सले प्रदर्शनका क्रममा नौ नाबालिगसहित ७३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
संस्थाका निर्देशक महमुद अमिरी–मोगद्दामले मारिनेहरूको वास्तविक संख्या हजारौँमा हुन सक्ने आशंका व्यक्त गरेका छन्। इरानभित्रको यो आन्तरिक विद्रोह र अमेरिका–इरानबीचको बढ्दो सैन्य तनावले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ।