आईसीसी महिला टी-२० विश्वकप छनोट शुरू, नेपाल र थाइल्याण्ड मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
709
Shares
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू भएको छ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।
समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।
नेपालले अहिले थाइल्याण्डसँग खेलिरहेको छ । कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले उत्कृष्ट शुरूआत गर्ने क्रममा पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्यो । सोनु खड्का ११ बलमा २६ रन बनाएर आउट भइन् ।
त्यस्तै मूलपानीको मैदानमा बंगलादेश र अमेरिका भिडिरहेका छन् । खेलमा बंगलादेशले पहिले ब्याटिङ गरिरहेको छ ।
नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, जिम्बाम्बे, थाइल्यान्ड र स्कटल्यान्ड छन् । अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।
छनोट शुरू हुनुअघि शनिबार कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू वर्माले घरेलु मैदानमा हुने विश्वकप छनोटका लागि आफ्नो टोली तयारी रहेको बताएकी छिन् ।
इन्दूले यो क्षणका लागि १८ वर्षदेखि नेपालले मेहनत गरेको उल्लेख गर्दै प्रतियोगिता जतिसक्दो उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छिन् । उनले सबै खेलाडी यो प्रतियोगिताका लागि तयार र उत्साहित रहेको पनि बताइन् ।
विश्व क्रिकेटका ठूलो राष्ट्रसँग खेल्न पाउँदा खुसी रहेको उनले उल्लेख गरेकी छन् । आगामी छनोट खेलमा त्यसको प्रभाव आउने उनको विश्वास छ । प्रशिक्षण राम्रो रहेको र खेलाडीहरूमा पनि आत्मविश्वास बढिरहेको उनी बताउँछिन् ।
सफलता एकैपल्ट नआउने र यसको प्राप्तिको लागि समय लाग्ने उनको भनाइ छ । उनले पछिल्लो समय आफ्नो टोलीले राम्रो क्रिकेट खेल्दै आएको र त्यसलाई निरन्तरता पनि दिने आशा व्यक्त गरेकी छन् ।
यो प्रतियोगिताका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको उल्लेख गरेकी छन् । आगामी पुस्ताका लागि यो प्रतियोगिताले राम्रो वातावरण मिल्ने उनको आशा छ ।