दाङ-२ मा शंकर पोखरेलले गरे बाजागाजासहित उम्मेदवारी दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
794
Shares
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दाङ क्षेत्र नम्बर २ बाट आफ्नो मनोनयन दर्ता गराएका छन्। महासचिव पोखरेल विभिन्न झाँकी, जुलुस र बाजागाजासहित आफ्ना समर्थकहरूको ठूलो र्याली लिएर घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनको उम्मेदवारी दर्तामा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम प्रस्तावक र लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य समर्थक रहेका छन्। मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताको बृहत्तर हितका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै दाङसँगै समग्र मुलुकको समृद्धिमा सधैँ प्रतिबद्ध रहने बताए।
महासचिव पोखरेलको राजनीतिक यात्रा चुनावी इतिहासमा निकै उतारचढावपूर्ण देखिएको छ। उनले २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसको बलियो पकडका बीच दाङ क्षेत्र नम्बर ३ बाट स्थापित नेता दीपक गिरीलाई पराजित गर्दै पहिलो पटक संसदमा प्रवेश गरेका थिए। यद्यपि, २०५६ सालको निर्वाचनमा कांग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित भएका पोखरेल २०६४ मा समानुपातिक सांसद बने पनि २०७० को दोस्रो संविधान सभा निर्वाचनमा फेरि कांग्रेस नेता बुद्धिराम भण्डारीसँग पराजित भएका थिए। २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्हालेका पोखरेल २०७९ को आम निर्वाचनमा भने कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।
यसपटक दाङ क्षेत्र नम्बर २ मा पोखरेलले कडा चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। उनीसँगै यस क्षेत्रमा नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्य चुनावी मैदानमा उत्रिएका छन्। पछिल्लो निर्वाचनमा व्यहोरेको हार र बदलिएको राजनीतिक समीकरणका कारण महासचिव पोखरेल यसपटक जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छन्। स्थानीय र राष्ट्रिय मुद्दाहरूलाई सन्तुलनमा राख्दै चुनावी अभियान सुरु गरेका पोखरेल र अन्य प्रतिस्पर्धी उम्मेदवारहरूका कारण दाङको चुनावी सरगर्मी निकै चुलिएको छ।