फागुन ४ देखि १८ सम्म मात्रै चुनाव प्रचार गर्न पाइने, आचारसंहिता उल्लंघन गर्नेलाई नछाड्ने
प्रतिनिधि सभा सदस्य बन्न उम्मेदवारी दिएका जनप्रतिनिधिको पद रिक्त हुने, फागुन २१ पछि उपनिर्वाचन
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
1k
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचारप्रसारको समय सीमा तय गरेको छ। आयोगका अनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्रै औपचारिक रूपमा निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन्।
मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन चिह्न प्राप्त भएलगत्तै उम्मेदवारहरूले घरदैलो कार्यक्रममार्फत मतदाता भेटघाट गर्न र सुझाव लिन पाउने स्पष्ट पारे। उनले मनोनयन दर्ता गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रममा नपर्न आग्रह गर्दै तर ठूला आमसभा, गोष्ठी र सेमिनारजस्ता गतिविधि भने दलगत रूपमा गर्न रोक लगाइएको बताए। निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै उनले उल्लंघनका उजुरी आएमा आयोगले कडा छानबिन र कारबाही गर्ने चेतावनी समेत दिए।
यस्तै, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त हुने जानकारी दिए। उनले ती रिक्त स्थानहरूमा फागुन २१ गतेको निर्वाचन सम्पन्न भएपछि मात्रै उपनिर्वाचन प्रक्रिया अघि बढाइने स्पष्ट पारे। आयोगले निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला पक्षलाई जिम्मेवार बन्न अपिल गरेको छ।