arrow

अन्तिम ओभरमा चुक्यो नेपाल: रुबिना र सीताको प्रयासका बाबजुद नेदरल्याण्ड्स विजयी

१४१ रनको लक्ष्य पछ्याउँदा घरेलु टोली २ रनले स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
wcq-w-nep-netherlands.jpg

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ। जितका लागि १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो, जसका कारण नेपालले घरेलु मैदानमा स्तब्धकारी हार बेहोर्नुपरेको छ।

नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा ३७ रनको सर्वाधिक योगदान गरिन् भने सीता राना मगर २७ रनमा अविजित रहिन्। बिन्दु रावलले १८ रन जोडे पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेदरल्याण्ड्सको बलिङमा इसाबेल भान डर वोनिङले घातक बलिङ गर्दै ३ विकेट लिएर नेपालको जितको बाटो छेकिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडले उत्कृष्ट ४९ रन जोडेकी थिइन् भने स्टेर कालिसले ३० रनको योगदान दिइन्। नेपालका तर्फबाट रुबिना क्षेत्रीले २ विकेट तथा रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान १/१ विकेट लिएका थिए।

यो जितसँगै समूह 'बी' मा रहेको नेदरल्याण्ड्सले ३ खेलबाट ६ अङ्क जोड्दै सुपर सिक्सको यात्रा लगभग पक्का गरेको छ। यता, पहिलो खेलमा थाइल्याण्ड र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएसँगै नेपालको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना निकै कमजोर बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ