काठमाडौँ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन आगामी माघ १८ गतेदेखि सुरु हुने भएको छ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो दिनदेखि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार आज बसेको बैठकले माघ १८ गते आइतबार दिनको १ः०० बजे प्रदेशसभाको बैठक बस्ने गरी अधिवेशन आह्वानको सिफारिस गरेको हो।
यसअघिको छैटौँ अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो। झन्डै ६ महिनापछि सुरु हुन लागेको यस अधिवेशनमा प्रदेशका विभिन्न विधेयकहरू र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।