एमाले र राप्रपाले कांग्रेसलाई सघाउने, मैदानमा तीन चिह्न मात्र
मनाङमा टेकबहादुर, यशोदा र नवीनबीच टक्कर
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
1.4k
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीनवटा चुनाव चिह्नबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसपटक मनाङका मतदाताले नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिह्नमा मात्रै मतदान गर्न पाउनेछन्।
सुरुमा पाँचवटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको भए तापनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसलाई समर्थन गर्दै आफ्ना उम्मेदवारी फिर्ता लिएपछि चुनावी मैदानमा तीनवटा चिह्न मात्रै बाँकी रहेका हुन्।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दुई दलले मनोनयन फिर्ता लिएपछि अब मतपत्रमा तीनवटा चिह्न मात्रै रहने टुङ्गो लागेको जानकारी दिए। अबको प्रतिस्पर्धामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेकपाकी यशोदा सुवेदी गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ मैदानमा देखिएका छन्।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङ देशकै सबैभन्दा कम मतदाता भएको जिल्ला हो, जहाँ कुल सात हजार मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लाभर एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।