arrow

नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो, स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
t20-woment-nep-scot-26-1-26 (1).jpg

काठमाडौँ । नेपाल आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । 

त्रिवि क्रिकेट मैदानमा नेपाल ७२ रनले पराजित भयो । जितका लागि १४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले ओभरमा १३ ओभर ५ बलमा ६८ रनमात्र बनाउन सक्यो । कप्तान ईन्दू बर्मा भने घाइते भएर बाहिरिनु पर्यो । कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर बिन्दू रावल र रोमा थापाले समान १४ रन बनाए ।   

यसअघि टस हारेर स्कटल्याण्डले सबै विकेट गुमाएर १४० रन बनायो । प्रियनाज चटर्जीले २८ बलमा अविजित रहँदै ४५ रन बनाइन् ।  

नेपालका लागि मनिषा उपाध्यायले १७ रन खर्चेर ४ तथा रुबिना क्षेत्रीले २३ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १ विकेट लिए । 

यो हारले नेपाल समूहको चौथो स्थानमा रहेर बाहिरिएको हो । समूहका पाँचमध्ये शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेमा नेपालले त्यो स्थान हासिल गर्न सकेन । नेपालले समूह चरणमा जिम्बाब्वेलाईमात्र हराउन सक्यो । 

जिम्बाब्वेमाथि ६ विकेटको जित

तेस्रो खेलमा नेपालले जिम्बाब्वेमाथि ६ विकेटको जित हासिल गरेको हो । १३० रनको चुनौती नेपालले ३ बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

उपकप्तान पूजा महतोले ५० बलमा अविजित रहँदै ५२ रन बनाइन् । कप्तान २३ बलमा २२ रन बनाइन् । जोसेफाइन कोमोले २ विकेट लिइन् ।

यसअघि कीर्तिपुर मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दै जिम्बाब्वेलाई १२९ रनमा रोक्यो । जिम्बाब्बेले ६ विकेटको क्षतिमा १२९ रन बनायो ।  जिम्बाब्वेका लागि केलिस दोलोभूले ३६ बलमा अविजित रहँदै ५२ तथा बेलोभेड बिजाले ३४ रन बनाइन् । 

नेपालका लागि रिया शर्माले २ तथा कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए । 

नेपाल र नेदरल्याण्ड्सको खेल

दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग मात्र दुई रनले पराजित भयो । कीर्तिपुर मैदानमा भएको खेलमा जितका लागि १४१ रनको चुनौती पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १३८ रन बनायो । 

आठौँ विकेटका लागि रूबिना क्षेत्री र सीता राना मगरबीच ४५ रनको साझेदारी हुँदै जित नजिक पुगे पनि अन्त्यमा नेपाल दुई रनले पराजित भयो । 

रूबिनाले ३२ बलमा अविजित रहँदै ३७ तथा सीताले १२ बलमा अविजित रहँदै २७ रन बनाइन् ।

नेपालले यसअघि ११ ‌औँ ओभरमा ६२ रन जोड्ने क्रममा ५ विकेट गुमाइसकेको थियो ।  

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनायो । 

 कप्तान बाबेट्टी डे लिडेले ४९ तथा स्टेरि कालिसले ३० रन बनाइन् । नेपालका लागि रबिना क्षेत्रीले २ तथा सोनु बिष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए ।

नेपाल र थाइल्याण्डबीचको खेल 

पहिलो खेलमा नेपाल ८ विकेटले पराजित भयो । १२३ रनको चुनौती थाइल्याण्डले १६.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । चन्थामले ३९ बलमा ५७ रन बनाइन् । दुवै विकेट सीता रानामगरले लिएकी हुन् । 

यसअघि। कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १२३ रन बनायो । खेलमा बिन्दू रावलले ५६ बलमा ४४ रन बनाइन् भने सोनु खड्काले ११ बलमा २६ रन जोडिन् । पहिलो विकेटका लागि ५.४ ओभरमा ५२ रनको साझेदारी भए पनि त्यसपछि कुनै राम्रो साझेदारी हुन सकेन । 

त्यस्तै रुबिना क्षेत्रीले २ छक्का र एक चौकाको मद्धतले १० बलमा १७ रन बनाएर आउट भइन् । उपकप्तान पूजा महतोले १७ बलमा १२ रन बनाइन् । कप्तान इन्दू वर्मा भने ६ बलमा ६ रन बनाएर आउट भइन् ।

थिपात्चा पुथावोङले ४ विकेट लिइन् ।

अंक तालिका

समूह बीमा तीन खेलबाट नेदरल्याण्ड्स ६ अंकसहित शीर्ष स्थानमा छ । चार खेलबाट स्कटल्याण्डको ६ तथा थाइल्याण्डको तीन खेलबाट ४ अंक छ भने ४ खेलबाट नेपाल २ अंकसहित चौथो तथा जिम्बाब्वे अंकविहीन रह्यो । 

समूह एमा बंगलादेशले चारै खेल जितेको छ । आयरल्याण्ड २ खेलबाट ४ तथा अमेरिका र पपुवा न्यूगिनी ३ खेलबाट समान २ अंक बटुलेका छन् । नामिबिया ३ खेलबाट अंकविहीन छ । 

यस्तो छ टिम प्रतियोगिताबाट विश्वकप पुग्ने बाटो

तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ । 

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् । 

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्याण्ड्स, जिम्बाम्बे, थाइल्याण्ड  र स्कटल्याण्ड छन् । अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ