arrow

हिमआँधीका बीच विमान दुर्घटना: आठ यात्रुको अवस्था अज्ञात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
small-plane.jpg

काठमाडौँ । अमेरिकाको माइन राज्यस्थित ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा आठ जना यात्रु बोकेको एउटा निजी जहाज दुर्घटनाग्रस्त भएको छ। सङ्घीय विमान प्रशासनका अनुसार आइतबार राति करिब ७:४५ बजे उक्त विमान दुर्घटनामा परेको हो।

दुर्घटनाको समयमा उक्त क्षेत्रमा भीषण हिमआँधी चलिरहेको थियो। आइतबार दिनभर ब्यान्गोरमा भारी हिमपात भएको र मौसम अत्यन्तै खराब रहेको बताइएको छ। दुर्घटना लगत्तै विमानस्थल प्रशासनले आपतकालीन उद्धार टोलीलाई घटनास्थलमा पठाएको थियो भने सुरक्षाका कारण विमानस्थलका सम्पूर्ण उडानहरू बन्द गरिएको छ। विमानमा सवार यात्रुहरूको पछिल्लो स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी प्राप्त भइसकेको छैन।

यो जहाज ९ देखि ११ जनासम्म यात्रु बोक्न सक्ने क्षमताको हो। सन् १९८० मा पहिलो पटक सञ्चालनमा आएको यो विमान यात्रुले हिँडडुल गर्न मिल्ने सुविधा भएको पहिलो निजी जहाज मानिन्छ। हाल सङ्घीय विमान प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेका छन्।

अमेरिकाको पूर्वी भागमा चलेको यस हिमआँधीका कारण हवाई यातायात नराम्ररी प्रभावित भएको छ। आइतबार मात्रै करिब १२ हजार उडान रद्द भएका छन् भने झण्डै २० हजार उडान ढिला भएका थिए। फिलाडेल्फिया, वासिङ्टन, बाल्टिमोर, न्यूयोर्क र न्यू जर्सीका विमानस्थलहरू यस आँधीबाट सबैभन्दा बढी प्रभावित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ