हिउँका पहाड छिचोल्दै शान्तिको पैदल यात्रा: अमेरिकामा १९ भिक्षुको साहसिक अभियान
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
828
Shares
काठमाडौँ । अमेरिकामा जनवरी महिनाको ठिही र भारी हिमपातका कारण मानिसहरू यात्राको योजना समेत बनाउँदैनन्। तर विश्वभर शान्तिको सन्देश फैलाउन हिँडेका बौद्ध भिक्षुहरू भने शून्य डिग्रीको तापक्रम र हिउँका पहाडहरूलाई बेवास्ता गर्दै लामा राजमार्गमा निष्फिक्री हिँडिरहेका छन्।
गेरु वस्त्र लगाएका र दायाँ–बायाँ हातमा आफ्ना सामग्रीका गह्रौँ झोला बोकेका यी भिक्षुहरूले मानवता, भ्रातृत्व र शान्तिको सन्देश दिइरहेका छन्। विश्वका विभिन्न भूगोलमा युद्धको कालो बादल मडारिरहेको र हजारौँले ज्यान गुमाइरहेको बेला उनीहरूले मानव कल्याणलाई नै सर्वोपरि ठानेर यो यात्रा जारी राखेका हुन्।
'शान्तिका लागि पदयात्रा' (वाक फर पिस) नाम दिइएको यो १२० दिने पैदल यात्राको उद्देश्य अन्तरमनको शान्ति र मानसिक स्वास्थ्यको जागरण ल्याउनु हो। फोर्टवर्थमा रहेको ह्योङ्ग दो विपश्यना भावना सेन्टरले संयोजन गरेको यो अभियान अक्टोबर २६ देखि सुरु भएको थियो।
पच्चीस सय वर्षअघि नेपालमा जन्मिएका गौतम बुद्धका अनुयायी बनेर उनीहरूले अहिंसा, करुणा र सचेतनाका लागि यो कठिन बाटो रोजेका हुन्। हालसम्म १०० दिनको यात्रा पूरा गरिसकेका यी भिक्षुहरू अहिले अमेरिकाको राजधानी वाशिङ्गटन डिसीतर्फ पाइला लम्काइरहेका छन्।
टेक्सासको फोर्टवर्थबाट सुरु भएको यो यात्रा दुई हजार ३०० माइल अर्थात् तीन हजार ७०० किलोमिटर लामो छ। यात्राका क्रममा विभिन्न राज्यका गभर्नरहरूले उनीहरूलाई स्वागत गर्ने र यात्राको महत्वलाई कदर गर्दै विशेष घोषणापत्र (प्रोक्लोमेसन) जारी गर्ने काम गरेका छन्।
यो पदयात्राले धार्मिक सहिष्णुता र मानव शान्तिका लागि सहकार्यको बलियो सन्देश दिएको छ। यात्राको सुरुवातमा पनि विभिन्न धार्मिक समुदायका व्यक्तिहरू उपस्थित भएर मानवता र एकताका लागि ऐक्यबद्धता जनाएका थिए।
भिक्षुहरूको यो अनवरत यात्रामा स्थानीय जनसमुदाय, सरकारी संयन्त्र र सुरक्षाकर्मीले समेत सुरक्षा र सहयोग प्रदान गरिरहेका छन्। पछिल्लो साता परेको भारी हिमपातका बीच पनि उनीहरूले देखाएको साहस र निरन्तरताको सबैले प्रशंसा गरेका छन्।
यस अभियानमा १९ जना भिक्षुसँगै 'आलोक' नाम गरेको एउटा कुकुर पनि सहभागी छ। मिडिया संयोजक डा. निरञ्जन बज्राचार्यका अनुसार यो अभियानले मानव हितका लागि शान्तिको सन्देश सम्प्रेषण गर्ने लक्ष्य राखेको छ। आफ्नै कडा अनुशासनमा बाँधिएका भिक्षुहरूले दैनिक २० देखि ३० माइलसम्मको दूरी तय गर्दै आगामी साता डिसी पुगेर यात्रा समापन गर्ने अपेक्षा गरिएको छ।