विश्वकप टी-२० मा नेपालको अन्तिम वार्मअप, क्यानाडालाई हराउन १६२ रनको चुनौती पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
802
Shares
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाली क्रिकेट टोलीले अहिले क्यानाडासँग आफ्नो अन्तिम अभ्यास खेल खेलिरहेको छ। अघिल्लो खेलमा यूएईलाई सात विकेटले पराजित गरेर उच्च मनोबलमा रहेको नेपाली टोली क्यानाडाविरुद्ध पनि जित निकाल्दै आत्मविश्वासका साथ विश्वकपमा प्रवेश गर्ने लक्ष्यमा छ ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम मैदानमा नेपालले जितका लागि १६२ रनको चुनौती पाएको छ । खेलमा क्यानाडाले टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १६१ रन बनायो ।
क्यानाडाका लागि नवनित तथगुरले ४१ तथा श्रेयस मोभ्भाले १९ बलमा अविजित रहँदै ३८ रन बनाए । नेपालका लागि कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २ तथा नन्दन यादव र सोमपाल कामीले समान १ विकेट लिए ।
विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलहरूबाट राम्रो अनुभव बटुलेको नेपालले क्यानडाविरुद्धको आजको खेललाई आफ्नो अन्तिम शक्ति परीक्षणका रूपमा लिएको छ।
नेपालले आगामी आइतबार फेब्रुअरी ८ मा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डसँग खेल्दै विश्वकपको ऐतिहासिक यात्रा सुरु गर्नेछ । यसपटक समूह ‘सी’ मा परेको नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्ल्यान्ड जस्ता क्रिकेटका हस्तीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ। रोचक कुरा के छ भने, नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। समूह चरणका सबै खेलहरू मुम्बईमा हुनेछन्, जहाँ नेपाली समर्थकहरूको उत्साह यति धेरै छ कि सबै खेलका टिकटहरू अग्रिम रूपमा बिक्री भइसकेका छन्।
सन् २०१४ र २०२४ पछि तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले यस संस्करणमा नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा र अनुभवी खेलाडीहरूको सन्तुलित संयोजनसहित मैदान उत्रिएको नेपाली टोलीले मैदानमा शतप्रतिशत नतिजा निकाल्ने प्रतिबद्धता जनाएको छ।