arrow

इरान-अमेरिका वार्ता: ट्रम्पको 'कर' र अराघचीको 'क्षेप्यास्त्र' बीच तानातान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
iran-maps.jpg

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग वार्ताका लागि तेहरानको अडान पुनः स्पष्ट पारेका छन्। उनले अमेरिकासँग वार्ताको ढोका सधैँ खुला रहेको र वार्ता प्रक्रिया चाँडै सुरु हुने आशा व्यक्त गरेका छन्। ओमानको मस्कटमा भएको अप्रत्यक्ष वार्तापछि अल जजिरासँग कुरा गर्दै उनले इरान कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी समेत दिए। 

शुक्रबारको छलफलका क्रममा अराघचीले इरानको क्षेप्यास्त्र कार्यक्रमबारे कुनै पनि हालतमा सम्झौता गर्न नसकिने बताए। उनले यदि अमेरिकाले इरानी भूमिमा आक्रमण गरेमा तेहरानले सो क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निशाना बनाउने स्पष्ट पारेका छन्। मस्कटमा भएको अप्रत्यक्ष वार्तालाई उनले ‘राम्रो सुरुवात’ भनेका छन्, यद्यपि दुई देशबीच विश्वास निर्माण गर्न अझै समय लाग्ने उनको ठम्याइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शुक्रबारको वार्तालाई निकै सकारात्मक वातावरणको संज्ञा दिँदै अर्को हप्ता पुनः अर्को चरणको वार्ता हुने प्रतिबद्धता जनाएका छन्। तर, अर्कोतर्फ ट्रम्पले इरानसँग व्यापार गरिरहेका देशहरूमाथि थप ‘कर लगाउने’ कार्यकारी आदेशमा हस्ताक्षर गरेर दबाबको राजनीति पनि सुरु गरेका छन्। अमेरिकाले इरानको तेल निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने उद्देश्यले धेरै पानीजहाजहरूमाथि नयाँ प्रतिबन्धको घोषणा समेत गरेको छ। तथ्याङ्क अनुसार इरानको व्यापारको ठुलो हिस्सा चीनसँग जोडिएको छ, जसले गर्दा अमेरिकाको यो कदमले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्ने देखिन्छ।

विदेशमन्त्री अराघचीले आणविक संवर्द्धन इरानको अपरिहार्य अधिकार भएको बताउँदै यसलाई कसैले रोक्न नसक्ने अडान दोहोर्‍याए। उनले इरान संवर्द्धनका विषयमा विश्वलाई आश्वस्त पार्ने गरी सम्झौता गर्न तयार रहेको तर परमाणु मुद्दाको समाधान वार्ताबाट मात्र सम्भव हुने बताए। क्षेप्यास्त्र कार्यक्रम देशको सार्वभौम रक्षासँग जोडिएको विषय भएकाले यसमा कहिल्यै छलफल नभएको उनले जिकिर गरे। वासिङ्टनले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र र क्षेत्रीय लडाकु समूहहरूलाई गर्ने समर्थनका विषयमा इजरायलको दबाबमा छलफल गर्न खोजे पनि तेहरानले भने परमाणु मुद्दाभन्दा बाहिर वार्ताको दायरा विस्तार गर्न बारम्बार अस्वीकार गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ