समावेशी शासन बिना मुलुकमा स्थायित्व असम्भवः राष्ट्रपति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
681
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व कायम गर्न समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नु अपरिहार्य रहेको बताएका छन् ।
आइतबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले समावेशी शासन प्रणालीबिना राजनीतिक स्थायित्व सम्भव नहुने बताएका हुन् ।
सबै जातजाति, भाषा, संस्कृति र समुदायलाई समान पहुँच, अवसर र सम्मान सुनिश्चित नगरी दिगो विकास र सामाजिक न्याय हासिल गर्न नसकिने उनको भनाइ छ ।
पौडेलले राष्ट्रिय गानको सन्दर्भ उल्लेख गर्दै नेपाललाई सयौँ फूलले बनेको सुन्दर फूलबारीको रूपमा व्याख्या गरे ।
उनले यो फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै समुदायको समान सहभागिता आवश्यक रहेको बताए ।
संविधानले समावेशिता, समानता र सामाजिक न्यायलाई मूल लक्ष्यका रूपमा अघि सारेको उल्लेख गर्दै राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर शासन सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र सम्पदा नेपालको पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए ।