भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य दायित्व सरकारको हो : अख्तियार प्रमुख राई
अख्तियार त अन्तिम अस्त्र मात्रै हो
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
923
Shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताएका छन्। आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणलाई सरकारले आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
सुशासन कायम गर्नका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। भ्रष्टाचार नियन्त्रणमा अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको बताउँदै उनले यसका लागि नागरिक समाज र सञ्चारजगतको भूमिका पनि अपरिहार्य रहेको स्पष्ट पारे।
प्रमुख आयुक्त राईका अनुसार प्रविधिको विकाससँगै भ्रष्टाचारका प्रवृत्तिहरू पनि जटिल र कठिन बन्दै गएका छन्। यस्तो अवस्थामा आयोगले आफ्नो जनशक्ति वृद्धि, कार्यशैलीमा परिवर्तन र प्रविधिको प्रयोगलाई बढाउँदै लगेको उनले जानकारी दिए। भ्रष्टाचारका स्वरूपहरू बदलिँदै गएकाले अब अझ सशक्त ढङ्गले अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ छ। उनले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा आयोगको स्तर वृद्धि गरिएको र हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको बताए।
आफू २०७७ सालमा नियुक्त हुँदाको तुलनामा अहिले आयोगलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको राईले उल्लेख गरे। विगतमा हुने गरेका आलोचनाहरू धेरै हदसम्म घटेको भन्दै उनले सबै निकायले आ–आफ्नो जिम्मेवारी र जवाफदेहिता बोध गरे मात्र देशमा सुशासन सम्भव हुने बताए। आयोगले स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, आफ्ना कर्मचारी र सञ्चारकर्मीहरूलाई सम्मान समेत गरेको छ। उत्कृष्ट अख्तियार सेवा पुरस्कार र उत्कृष्ट अनुसन्धान पुरस्कार भने आगामी माघ २८ गते आयोजना हुने मूल समारोहमा वितरण गरिने उनले जानकारी दिए।