शीतलनिवासमा सुरक्षा 'ब्रिफिङ': निर्वाचन सुरक्षामा कुनै कसर बाँकी नराख्न राष्ट्रपतिको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
962
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्धलाई सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनले निर्वाचनका लागि आवश्यक पर्ने स्रोत, साधन र जनशक्तिको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिने विश्वास समेत व्यक्त गरे।
राष्ट्रपति भवन शीतलनिवासमा आज गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँगको विशेष भेटघाटमा उनले यस्तो निर्देशन दिएका हुन्।
भेटका क्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचन नै भएको र यसले मुलुकको वर्तमान अवस्थालाई सही निकास दिने उल्लेख गरे। उनले निर्वाचनलाई भयरहित बनाउन सरकार र सुरक्षा निकायले कुनै पनि कसर बाँकी राख्न नहुनेमा जोड दिएको कुरा उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
सो महत्वपूर्ण भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो। राष्ट्रपतिले सुरक्षा प्रमुखहरूलाई निर्वाचन सुरक्षाका चुनौतीहरू पहिचान गरी सोही अनुसारको रणनीति अपनाउन समेत सुझाव दिएका छन्।