महाशिवरात्रिको तयारी बुझ्न गृहमन्त्री पशुपति क्षेत्रमा, छ हजार सुरक्षाकर्मी तैनाथ गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
667
Shares
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति क्षेत्रको भ्रमण गरी दर्शनार्थीका लागि गरिएको तयारी र सुरक्षा व्यवस्थाको जानकारी लिएका छन्।
गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू र मन्त्रालयका उच्च पदाधिकारीसहित पशुपति पुगेका उनलाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले कोषको तर्फबाट गरिएका विशेष तयारीबारे अवगत गराएका हुन्।
सुरक्षा व्यवस्थाको 'ब्रिफिङ' का क्रममा काठमाडौँ प्रहरी प्रमुख रमेश थापाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी कुल ६ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएका छन्। जसमा प्रत्येक सिफ्टमा मात्रै एक हजार २०० सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिनेछन्।
सुरक्षालाई थप चुस्त बनाउन स्थानीय तह, विकास कोष, नेपाल स्काउट र सुरक्षा निकायको समन्वयमा 'हेल्प डेस्क' को व्यवस्था गरिएको छ। भीडभाडमा हुन सक्ने चोरी, पाकेटमारी, लागूपदार्थ सेवन तथा सम्भावित दुर्व्यवहार नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मीहरू समेत बाक्लो रूपमा परिचालन गरिएको प्रहरी प्रमुख थापाले बताए।
सुरक्षा प्रबन्धबारे सबै विवरण बुझेपछि गृहमन्त्री अर्यालले दर्शनार्थीलाई सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन र सुरक्षामा कुनै पनि कमी हुन नदिन सुरक्षा प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्। यस वर्ष महाशिवरात्रिमा करिब सात लाख दर्शनार्थी आउने अनुमान गरिएको छ। दर्शनलाई व्यवस्थित बनाउन आइतबार बिहान २:०० बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला रहने जानकारी कोषले दिएको छ।