देशभर महाशिवरात्रिको उल्लास: पशुपतिमा भक्तजनको घुइँचो, यस्तो छ विशेष तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
668
Shares
काठमाडौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने महाशिवरात्रि पर्व आज देशभरका शिवालयहरूमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी मनाइँदैछ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो ४:५२ बजेसम्म त्रयोदशी रहे पनि त्यसपछि चतुर्दशी प्रारम्भ हुने र मध्यरातमा चतुर्दशी तिथि आजै परेकाले यस दिनलाई महाशिवरात्रिका रूपमा मनाउने निर्णय गरिएको हो। शास्त्रीय मान्यता अनुसार पर ब्रह्मले यसै दिन मध्यरातमा शिव रूप धारण गरेकाले आजको दिन पूजा, दर्शन र आराधना गर्दा सुख, शान्ति र सद्गति प्राप्त हुने विश्वास प्रा.डा. देवमणि भट्टराईले व्यक्त गरेका छन्।
वैदिक सनातन धर्मावलम्बीहरूले आज बिहानैदेखि नदी र कुण्डमा स्नान गरी शिवजी उत्पत्ति भएको यस पावन रातको स्मरणमा कालरात्रि, मोहरात्रि र सुखरात्रिको रूपमा विशेष महत्व दिने गर्दछन्। महादेवको जगत् कल्याणकारी तत्वका कारण प्रकृतिमा नयाँ पालुवा पलाउने समय भएकाले पनि यसलाई शिवरात्रिका रूपमा मनाइने जनश्रुति छ।
आज भक्तजनहरूले शुद्ध भई व्रत बस्ने, शिवलाई मनपर्ने दूध, धतुरो र बेलपत्र चढाउने तथा रातभर जाग्राम बसेर सर्वसिद्धि लाभ गर्ने धार्मिक विश्वास रहेको छ। जाडो हटाउन घर-घर र चोकमा धुनी जगाउने र त्यसै आगोमा प्रसाद बनाएर ग्रहण गर्ने परम्परा पनि उत्तिकै रोचक छ।
पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीका लागि विशेष प्रबन्ध मिलाइएको छ। कोषका कोषाध्यक्ष श्रीधर सापकोटाका अनुसार गाँजा, भाङ र लागुपदार्थको प्रयोगलाई पूर्णतः निषेध गरिएको छ। भक्तजनहरूको सुविधाका लागि आज बिहान २ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिएका छन्। दर्शनका लागि मित्रपार्क, गौशाला र विमानस्थल क्षेत्रबाट गरी तीनवटा मुख्य बाहिरी लाइनको व्यवस्था गरिएको छ। मन्दिर परिसरभित्र छिरेपछि पनि उत्तर, दक्षिण र पश्चिमबाट छुट्टाछुट्टै भित्री लाइनहरूको व्यवस्थापन गरिएको छ, जसले गर्दा दर्शनार्थीले सहजै पूजा गर्न सकुन्।
सवारी पार्किङका लागि सिफल, तिलगङ्गा र वनकाली क्षेत्रमा ठाउँ तोकिएको छ। पशुपतिनाथका साथै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर र देशभरका अन्य शिव मन्दिरहरूमा पनि आज भक्तजनको ठूलो घुइँचो लागेको छ। भारतदेखिका तीर्थयात्रीहरू समेत पशुपति दर्शनका लागि आएकाले पशुपति क्षेत्र आज राष्ट्रिय र अन्तर्राष्ट्रिय भक्ति र सङ्गीतको सङ्गमस्थल बनेको छ।