परमाणु वार्ता: अमेरिकी अडान 'यथार्थपरक' बन्दै गएको इरानको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
2.1k
Shares
काठमाडौँ। इरानले सोमबार दोस्रो चरणको वार्ताअघि आफ्नो परमाणु कार्यक्रमबारे अमेरिकी अडान "अझ यथार्थपरक" दिशामा अघि बढेको बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले ओमानको मस्कटमा भएको छलफलपछि अमेरिकी दृष्टिकोणमा सकारात्मक परिवर्तन महसुस गरिएको जानकारी दिए।
उनका अनुसार, आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग र संवर्द्धनलगायतका विषयमा 'अप्रसार सन्धि' अन्तर्गत इरानको अविच्छेद्य अधिकारलाई अमेरिकाले मान्यता दिएको छ। गत वर्षको इरान-इजरायल युद्धका कारण भंग भएको वार्ता यसै महिना पुनः सुरु भई मङ्गलबार दोस्रो चरणमा प्रवेश गर्दैछ।
गत जुनमा इजरायलले इरानविरुद्ध गरेको हवाई आक्रमणले १२ दिने युद्ध निम्त्याएको थियो, जसमा इजरायल र अमेरिकाले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएका थिए। प्रवक्ता बाकाईले लामो समयदेखिको अमेरिकी प्रतिबन्धले इरानी जनता र अर्थतन्त्रलाई गम्भीर संकटमा पारेको भन्दै ती प्रतिबन्धहरू तुरुन्त हटाउन माग गरे। उनले भने, "समय हाम्रा लागि महत्त्वपूर्ण छ; जनता दमनकारी प्रतिबन्धको मारमा छन्।"
वार्ताको मुख्य केन्द्रमा इरानको संवर्द्धित युरेनियमको भण्डार रहेको छ। युद्धअघि इरानसँग ६० प्रतिशत शुद्धता भएको ४०० किलोग्रामभन्दा बढी युरेनियम थियो। वासिङ्टनले यो भण्डारलाई शून्यमा झार्न दबाब दिँदै आएको छ। यता इजरायलले भने इरानसँग कुनै पनि संवर्द्धन क्षमता हुन नहुने र सबै सामग्री विदेश स्थानान्तरण गरिनुपर्ने अडान राख्दै आएको छ।
इरानले द्वन्द्वका क्रममा ध्वस्त भएका आणविक स्थलहरूको भग्नावशेषमा आफ्नो प्रशोधन सामग्री रहेको दाबी गरेको छ। तेहरानले आफ्नो संवर्द्धनको अधिकारमा अडिग रहे पनि यदि सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइयो भने संवर्द्धित युरेनियमको मात्रा घटाउन तयार रहेको सङ्केत दिएको छ।