सर्वसाधारणका लागि खुल्यो सुपर खुदी हाइड्रोपावरको आईपीओ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
558
Shares
काठमाडौँ। सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार पाँच सय कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल शेयरमध्ये ७७ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम् एक लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ ।
साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त आईपीओ छिटोमा फागुन ११ गतेसम्म र ढिलोमा फागुन १९ गतेसम्म खुला रहनेछ ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्काशनका लागि अनुमति पाएको थियो ।
उक्त स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ ।