युवराज सम्रा बने टी-२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
756
Shares
चेन्नई । क्यानाडाका क्रिकेट खेलाडी युवराज सम्रा टी-२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । न्यूजिल्याण्डविरुद्ध भारतको चेन्नईस्थित चेपोक स्टेडियममा भएको समूह चरणको खेलमा सम्राले ११० रन बनाए । उनले ६५ बलमा ६ छक्का र ११ चौकाको मद्धतले ११० रन बनाएका हुन् ।
उनी मात्र १९ वर्षका छन् । यसअघि यो रेकर्ड पाकिस्तानका अहमद शहजादको नाममा रहेको थियो । उनले सन् २०१४ मा मिरपुरमा बंगलादेशविरुद्ध २२ वर्ष १२७ दिनको उमेरमा शतक बनाएका थिए ।
खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी हुँदै सुपर एटमा पुगेको छ । पहिले ब्याटिङ गरेको क्यानाडाले ४ विकेटको क्षतिमा १७३ रन बनायो । सम्रा र कप्तान दिलप्रित बज्वाले पहिलो विकेटका लागि११६ रनको साझेदारी गर्ने क्रममा बज्वाले ३६ रन जोडे ।
जवाफमा न्यूजिल्याण्डले १५ ओभर १ बलमै २ विकेटको क्षतिमा जित निकाल्यो । ग्लेन स्मिथले ३६ बलमा अविजित रहँदै ७६ तथा रचिन रविन्द्रले ३९ बलमा अविजित रहँदै ५९ रन बनाए ।
समूह डीबाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर एटमा पुगेका छन् भने अफगानिस्तान, अमेरिका र क्यानडा बाहिरिएका छन् ।