arrow

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग दलहरूको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
qatar-conflict-iran-attack.jpg
तस्बिर : कतारको दोहामा रहेको अल उदेइद एयर बेसको दिशामा रहेको क्षेत्रबाट उडिरहेको धुवाँ , एएफपी।

काठमाडौँ । विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलले मध्यपूर्वमा उत्पन्न भएको तनावपूर्ण स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् । 

कांग्रेस सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा भनेका छन्, “मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ । रोजगारीलगायत सिलसिलामा विभिन्न देशमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुरक्षा संवेदनशील बनेको छ । यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा अनुरोध गर्दछु । सुरक्षा नियमहरूको पूर्णपालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा रहनुहोला ।”

उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिई उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । उनले भनेका छन्, “यूएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।” 

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण र त्यसपछिको घटनाक्रमबाट नेपालीलाई हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित राख्न उच्च पहलकदमी लिन सरकारसँग अनुरोध गरेका छन् । उनले त्यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता भएको उल्लेख गरे । 

रास्वपाका सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका बीच खाडी मुलुकमा कार्यरत नेपाली नागरिकको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । उनले यूएई, कतार र बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था जटिल बन्ने जोखिम औँल्याउँदै त्यहाँ कार्यरत लाखौँ नेपालीको जीवन, रोजगारी र सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सम्बन्धित देशमा नेपालीको अवस्थाबारे नियमित र तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् । 

साथै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, निवर्तमान सभामुख देवराज घिमिरे लगायतले पनि उक्त घटनाबारे चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीलाई पर्नसक्ने जोखिमप्रति सचेत रहन र सुरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन् । 

अमेरिका र इजरायले इरानमाथि सैन्य आक्रमण गरेका छन् । त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ । 

इरानको एक छात्रा विद्यालयमा मिसाइल खस्दा ८५ छात्राहरूको मृत्यु भएको छ । कयौँको ज्यान गएको बताइएको छ । अन्य क्षेत्र पनि अस्तव्यस्त छन् । कतारमा पनि आक्रामण भएको छ । यूएईमा पनि आक्रमण भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ