चुनावभर चुप लागेर बसेका सिटौलाले भने - इतिहास दोहोरिन्छ, कांग्रेस आत्तिनु पर्दैन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
3.1k
Shares
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियानभर कुनै पनि सक्रियता नदेखाइ 'राजनीतिक काेमा' मा बसेका नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौला चुनावी नतिजा सार्वजनिक भएसँगै मुखर भएका छन्।
पार्टी सभापति गगनकुमार थापासँगको आन्तरिक असमझदारी र असहयोगको चर्चाका बीच पार्टीले सोचेजस्तो नतिजा नल्याएपछि सिटौलाले पहिलो पटक मुख खोल्दै कांग्रेस अब पुनरोत्थानको बाटोमा लागेको दाबी गरेका हुन्।
बुधबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित र बहालवाला सदस्यहरूको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस मासिने बाटोमा गएको भन्ने चर्चालाई ठाडै अस्वीकार गरे ।
चुनाव अवधिभर लगभग 'मौन' बसेका उनले अहिलेको अप्रत्याशित परिणामलाई इतिहासको एउटा कालखण्डको रूपमा चित्रण गर्दै विगतमा पनि कांग्रेसले यस्ता कठिन दिनहरू भोगेकाले पुनः पुनरागमन गर्ने तर्क गरे ।
उनले भने, "इतिहासका घटना हेर्ने हो भने हामीले यस्तो परिणाम पहिले पनि नभोगेको होइन। नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरू आत्तिनुपर्ने कुनै अवस्था छैन। अब नयाँ परिस्थितिमा नयाँ दृष्टिकोण र विचारका साथ पार्टीलाई पुनर्संरचना (रिस्ट्रक्चरिङ) गर्ने बेला आएको छ।"
सिटौलाले बदलिएको राजनीतिक परिवेशअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए पनि तत्कालै विशेष महाधिवेशनको औचित्य नरहेको स्पष्ट पारे। निर्वाचनको नतिजापछि पुराना दलहरूप्रति जनमानसमा देखिएको असन्तुष्टिलाई स्वीकार गर्दै उनले अब गम्भीर समीक्षा र नीतिगत सुधारमार्फत पार्टीलाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।
सिटौला विशेष महाधिवेशनको विरोधमा थिए । पार्टीको विधानअनुसार विशेष महाधिवेशन गरेर तत्कालीन महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई नवजीवन दिएका थिए ।
यता विशेष महाधिवेशनको स्वामित्व लिनुको सट्टा अन्तिम दिन अन्तिम समयमा आएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्धयलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेका थिए ।
१४ औँ नियमित महाधिवेशनका बहुमत महासमिति सदस्य रहेको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको थियो ।
गगन र शेरबहादुर दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग गएकामा गगन नेतृत्वलाई आयोगले आधिकारिकतासहित रूख चुनाव चिन्ह दिएको थियो ।
यो मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ । यता चुनावभर चुप बसेका देउवा पक्षका नेता तथा कार्यकर्ताहरू चुनावी परिणामपछि भने सामाजिक सञ्जालमा गगन थापाको राजीनामा मागिरहेका छन् ।
त्यतिमात्र होइन चुनावमा घात गरेको आरोपसमेत लागेको छ ।