एनआईसी एशिया बैङ्कद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
511
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौँस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा बढी विद्यार्थीलाई झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। लामो समयदेखि परोपकारी काम गर्दै आएको यस संस्थाका विद्यार्थीहरूको पठनपाठन गुणस्तर वृद्धि र अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरेका छन्।
बैङ्कले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। विगतका वर्षहरूमा पनि बैङ्कले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ भने सातै प्रदेशका विभिन्न विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ।
शान्ति सेवा गृहका यी विद्यार्थीहरूलाई दिइएको शैक्षिक सामग्री सहयोगले उनीहरूको अध्ययन गुणस्तर बढाउने र निरन्तर पढाइमा सहयोग पुग्ने बैङ्कले विश्वास व्यक्त गरेको छ।
यो सामाजिक कार्यमार्फत एन आई सी एशिया बैङ्कले शिक्षा क्षेत्रमा आफ्नो निरन्तर प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।