arrow

कर्णाली प्रदेशसभा बैठक : ‘हवाई सेवासम्बन्धी सङकल्प प्रस्ताव’ पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
karnali-prade.jpg

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लाहरूमा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मत पारित भएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले दुर्गम क्षेत्रका नागरिकको सहजताका लागि यो महत्त्वपूर्ण प्रस्ताव पारित गरेको हो।

प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले पेस गरेको उक्त सङ्कल्प प्रस्तावलाई सदस्यहरू दक्षिणा शाही र टेकराज पछाईले समर्थन गरेका थिए भने उर्मिला विकले पक्षमा बोलेकी थिइन्।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले हवाई सेवाका लागि चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। यो रकम कार्यान्वयन गर्नका लागि मन्त्रालयले अहिले कार्यविधिको मस्यौदा निर्माण गरिरहेको उनले बताए।

हाल कर्णालीको राजधानी सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लाहरूमा नियमित उडान नहुँदा यहाँका बासिन्दाले हवाई सेवाका लागि लुम्बिनी प्रदेशको बाँके (नेपालगञ्ज) धाउनुपर्ने बाध्यता छ। सङ्कल्प प्रस्ताव पारित भएसँगै अब आफ्नै प्रदेशको राजधानीबाट नियमित उडान सुरु गर्न सङ्घीय सरकारसँग आवश्यक छलफल र समन्वय गरिने प्रदेशसभा सदस्यहरूले बताएका छन्।

यो कदमले कर्णालीका हिमाली जिल्लाहरू मुगु, हुम्ला र डोल्पाका नागरिकलाई प्रदेश राजधानीसँग सिधा हवाई सम्पर्कमा जोड्न ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ