arrow

प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री गुरुङ, नागरिकसँगको दूरी घटाउन र प्रविधिमैत्री बन्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
sudan-gurung-16.jpg

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। सोमबार नक्सालस्थित मुख्यालय पुगेका गृहमन्त्रीलाई प्रहरी महानिरीक्षक  दानबहादुर कार्की लगायतका उच्च अधिकारीहरूले स्वागत गरे।

निरीक्षणपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेकोमा धन्यवाद दिए। उनले आगामी दिनमा प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गरे। समाजले प्रहरीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै उनले नागरिक र प्रहरीबीचको दूरी घटाउन शिष्ट बोली, वचन र व्यवहारका साथ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

गृहमन्त्रीले विपद् व्यवस्थापनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा रहने हुँदा प्रहरीलाई थप साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल तालिमको व्यवस्था गरिने उल्लेख गरे। उनले प्रहरीको वृत्ति विकास कार्यसम्पादन र वैज्ञानिक प्रणालीका आधारमा हुने बताउँदै साङ्गठनिक सुदृढीकरण र प्रविधिमैत्री सेवालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले विभिन्न कठिनाइका बाबजुद प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीले खेलेको व्यावसायिक भूमिकाको उच्च सम्मान गरे। उनले अबका दिनमा फरक शैली र उच्च मनोबलका साथ छिटोछरितो सेवा दिन निर्देशन दिए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले संविधान र मानवअधिकारका मापदण्डभित्र रहेर 'सत्य, सेवा, सुरक्षणम्' को मर्मलाई पालना गर्दै आएको बताए। सो अवसरमा गृहमन्त्री गुरुङले मुख्यालयस्थित डाटा सेन्टरको समेत अवलोकन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ