सुलेमानीका आफन्त अमेरिकामा पक्राउ, लारीजानीकी छोरीको पनि कानूनी हैसियत खारेज
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
2k
Shares
काठमाडौँ । इरान र अमेरिका–इजरायलबीच युद्धको परिस्थिति चर्किएकै समयमा अमेरिकी प्रशासनले मारिएका इरानी जनरल कासिम सुलेमानीका दुई नातेदारलाई पक्राउ गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सुलेमानीकी भतिजी हमिद सुलेमानी अफसार र उनकी छोरीलाई संघीय सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका हुन्।
हाल उनीहरूलाई अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनको हिरासतमा राखिएको छ। सन् २०२० को जनवरीमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा बग्दादमा भएको ड्रोन आक्रमणमा सुलेमानी मारिएका थिए। सुलेमानी अफसारले सामाजिक सञ्जालमार्फत इरानी सत्ताको समर्थन गरेको र अमेरिकालाई ‘महान् शैतान’ भन्दै निन्दा गरेको पाइएपछि यो कदम चालिएको अमेरिकी अधिकारीहरूको दाबी छ।
यसैगरी अमेरिकी प्रशासनले हालै इजरायली आक्रमणमा मारिएका अर्का इरानी सुरक्षा प्रमुख अली लारीजानीकी छोरी र ज्वाइँको पनि कानूनी हैसियत खारेज गरिदिएको छ। उनीहरू हाल अमेरिकामा नरहेको र भविष्यमा समेत प्रवेशमा प्रतिबन्ध लगाइएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
लारीजानी गत मार्च १७ मा इजरायली आक्रमणमा मारिएका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस कारबाहीको पुष्टि गर्दै ट्रम्प प्रशासनले अमेरिका विरोधी शासनलाई समर्थन गर्ने विदेशी नागरिकहरूलाई आफ्नो भूमिमा बस्न अनुमति नदिने स्पष्ट पारेका छन्। सुलेमानी अफसारका पतिलाई समेत अमेरिका प्रवेशमा रोक लगाइएको छ, जसले इरानी उच्च पदस्थ अधिकारीका आफन्तहरूमाथि अमेरिकाले निगरानी र कारबाही तीव्र पारेको देखाउँछ।