जेडी भान्ससहित यी अमेरिकी टोली आउँदै छन् इस्लामावाद
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
1.9k
Shares
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको इस्लामावादमा इरानसँग हुने प्रत्यक्ष शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बुधबार पत्रकार सम्मेलनमार्फत यस ऐतिहासिक वार्ता शनिबार बिहानदेखि सुरु हुने अपेक्षा गरिएको जानकारी दिएकी हुन्।
ह्वाइट हाउसको प्रेस ब्रिफिङका अनुसार उक्त वार्तामा उपराष्ट्रपति भान्सका साथ राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उनका ज्वाइँ जेरेड कुश्नर समेत सहभागी हुने निश्चित भएको छ। यसअघि आयोजक राष्ट्र पाकिस्तानले इस्लामावादमा अमेरिकी र इरानी वार्ताकारहरूबीच शुक्रबार नै वार्ता सुरु गर्ने प्रस्ताव गरेको भए तापनि नयाँ तालिका अनुसार शनिबारदेखि प्रक्रिया अघि बढ्ने देखिएको छ।
हालै घोषित दुई हप्ताको युद्धविरामलाई स्थायी शान्तिमा बदल्ने प्रयास स्वरूप हुन लागेको यस उच्चस्तरीय भेटघाटलाई विश्व समुदायले निकै चासोका साथ हेरिरहेको छ।