बालेन सरकारले दुई साता पूरा गर्दा नै आकाशियो महँगी, उपत्यकामा सार्वजनिक गाडी चढ्यो कि २४ रुपैयाँ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
1k
Shares
काठमाडौँ । पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडादर बढेको छ । बालेन साह प्रधानमन्त्री भएपछि महँगीमा नियन्त्रण गर्न नसकेसँगै सार्वजनिक यातायातको मूल्य बढ्दा यात्रुलाई पनि थप असर परेको छ ।
मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायातले पनि भाडा बढाएका हुन् । केही दिनअघि लामो दूरीका सवारीको भाडा बढाइएको थियो भने अहिले बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ भाडादर निर्धारण गरेको हो ।
संशोधित भाडादर शनिवारदेखि लागू भइसकेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि १९ रुपैयाँ थियो ।
दूरीका आधारमा भाडा समायोजन गरिएको छ । पाँच किलोमिटरसम्म २४ रुपैयाँ, १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ निर्धारण गरिएको छ ।
२० किलोमिटरभन्दा माथिको दूरीका लागि ५० रुपैयाँ भाडा कायम गरिएको मन्त्रालयले जनाएको छ । इन्धन मूल्य वृद्धि तथा सञ्चालन खर्च बढेकाले भाडा समायोजन गरिएको बागमती सरकारले जानकारी दिएको छ । यद्यपि विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारीसाधनका हकमा भने २०७९ वैशाख १ गतेदेखि लागू गरिएको पुरानै भाडादर यथावत राखिएको छ ।
प्रदेश सरकारले उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर निर्धारण गर्ने नीति लिएको पनि जनाएको छ ।