काठमाडौँ । अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिएका छन्।
उपराष्ट्रपति भान्सले अमेरिकाले आफ्ना अडान र लचिलो हुन सक्ने क्षेत्रहरू स्पष्ट रूपमा राखेको भए पनि इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताए। "यो सम्झौता हुन नसक्नु अमेरिकाको तुलनामा इरानका लागि धेरै नराम्रो खबर हो," उनले टिप्पणी गरे। अमेरिकी टोलीले इरानसँग आणविक हतियार निर्माण नगर्ने र त्यसका लागि आवश्यक प्रविधि तथा उपकरण नजुटाइने कुरामा स्पष्ट प्रतिबद्धता खोजेको थियो।
वार्ता अवधिभर अमेरिकी टोलीले राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ र अर्थमन्त्री स्कट बेसेन्ट लगायतका उच्च अधिकारीहरूसँग निरन्तर समन्वय गरेको थियो। भान्सले आफूहरू वार्तामा निकै लचिलो बनेको दाबी गर्दै इरानका सामु अमेरिकाको 'अन्तिम र उत्तम' प्रस्ताव छाडेर आफूहरू स्वदेश फर्कन लागेको बताए।
यसैबीच, इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार यो म्याराथन वार्तामा मुख्य रूपमा स्ट्रेट अफ हर्मुजको सुरक्षा र इरानको आणविक कार्यक्रमका विषयहरू समेटिएका थिए। अमेरिकाले इरानका सर्तहरू स्वीकार्ने तत्परता नदेखाएका कारण वार्ता गतिरोधमा फसेको इरानी पक्षको बुझाइ छ।
अहिलेलाई अमेरिकाले आफ्नो अन्तिम प्रस्ताव इरानको हातमा छाडेको छ। अब इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भन्ने कुराले मध्यपूर्वको आगामी रणनीतिक बाटो तय गर्ने देखिएको छ।